मधेश सरकारले प्रदेशका किसान समस्या पहिचान गरी समाधान गर्न उच्च स्तरीय समिति गठन गरेको छ । शनिवार बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजयकुमार यादवको संयोजकत्वमा पाँच सदस्यीय उच्च स्तरीय समिति गठन गरेको हो ।
समितिमा उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री शत्रुधन महतो, आन्तरिक मामिला तथा संचारमन्त्री भरतप्रसाद साह, अर्थमन्त्री शैलेन्द्रप्रसाद साह र खानेपानी तथा उर्जा विकास मन्त्री ओमप्रकास शर्मा सदस्य छन् ।
कृषि तथा पशुपक्षी विकास, किसानको मलखाद, बिउबिजन तथा सिंचाई समस्या, बीमाको अवस्था, कृषि यान्त्रिकीकरणको अवस्था तथा कृषिसम्बन्धी आगामी रणनीति निर्माणसम्बन्धी प्रतिवेदन तयार गर्न समितिलाई जिम्मेवारी दिएको छ । त्यसैगरी, कृषि सुधारको लागि गरेको गतिविधिको समीक्षा एवं अगामी योजना बारे नीति निर्माण गर्ने जिम्मेवारी समितिलाई दिएको सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले बताए ।अगामी १५ दिनभित्र अन्तरिम प्रतिवेदन तयार गरी मन्त्रीपरिषद्को बैठकमा पेश गर्न समय दिएको मन्त्री साहले बताए ।










