काठमाडौंमा सुरक्षा ब्यबस्था कडा, २८ जना बन्दकर्ता पक्राउ



नेपालका ६ वटा साना कम्युनिस्ट घटकहरुले आह्वान गरेको आजको नेपाल बन्दका क्रममा काठमाडौंका विभिन्न स्थानबाट २८ जना पक्राउ परेका छन ।काठमाडौंका विभिन्न स्थानबाट २८ जनलाई पक्राउ गरिएको र राजधानीमा हुनसक्ने सम्भावित घटनालाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा पारिएको महानगरी प्रहरी परिसर काठमाडौंका प्रमुख एसपी सुदीप गिरीले जानकारी दिए

आजको नेपाल बन्द काठमाडौं उपत्यका बाहिर असर देखिएपनी उपत्यकामा भने प्रभावहीन देखिएको छ ।काठमाडौका सडकमा निजी र सार्वजनिक सवारीसाधन चलेका छन् । पसल, व्यापार–व्यवसाय पनि सञ्चालनमा छ ।

उपत्यकामा स्थानीय प्रशासनले सुरक्षाकर्मी परिचालन गरेको छ । लामो दूरीमा चल्ने गाडी भने फाट्टफुट्ट मात्रै छुटेका छन् ।गृह मन्त्रालयले मंगलबार नै ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेर शान्ति सुरक्षा चुस्त राख्न निर्देशन दिइसकेको छ ।

काठमाडौं उपत्यका बाहिर भने नेपाल बन्दको असर देखिएको छ । धेरै जिल्लाहरुमा यातायात र अन्य उधोग र कलकारखानाहरु बन्द रहेका छन ।

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले देशव्यापी बन्द आह्वान गरेका हुन् ।

प्रकाशित मिति : फाल्गुन ४, २०७८ बुधबार  ११ : १९ बजे