धन्कौलका आगलागी पीडितको विचल्ली, वर्षामा पालमुनि बस्नु पर्ने चिन्ता



सर्लाहीको धन्कौलका १३ घर आगलागि पीडितहरुको विचल्ली भएको छ । एक साताअघि धन्कौल गाउँपालिका–५ हरकठवामा भएको भिषण आगलागीबाट १३ विपन्न परिवारको घरबार खरानी भएको थियो ।आगलागीबाट घरबास गुमाएका उनीहरू अचेल त्रिपाल टागेर बसिरहेका छन् । चर्को घाममा दिनरात त्रिपालमुनि बस्नु पर्दा बालबालिका वृद्धवृद्धा र बिरामीलाई निकै मुस्किल हुने गरेको पीडितहरूको गुनासो छ । हावाहुरी र बर्षातको समेत समय भएकोले दिनदिनै चिन्ताले सताउन थालेको पीडित विकाउ पासवानले बताए ।

आगलागी पीडित परिवारको लागि विभिन्न संघ संस्था, गाउँपालिका कार्यालय, जिल्लास्थित विपद् व्यवस्थापन समिति समेतको पहलमा त्रिपाल, खाध्यन्न, कम्बल, ग्याँस सिलिण्डर, चुलो, लत्ताकपडा र नगद ५(५ हजार रूपैयाँ वितरण गरिएकोे थियो । यस बाहेक कुनै व्यवस्थापन नभएको स्थानीयका भनाइ छ । उनीहरूले दैनिक ज्याला मजुदरी गरेर परिवार पाल्दै आएका थिए ।

सहयोगी संस्था र गाउँपालिकाले दिएको एक थान त्रिपाल र केही खाध्यन्नको भरमा गुजारा गर्न निकै कष्ट भइरहेको पीडितहरूको दुखेसो छ । खाद्यन्न वा अन्य सहयोगभन्दा पनि टाउको लुकाउने सुरक्षित आवासको व्यवस्था गरिदिन उनीहरूले माग गरिरहेका छन् । विभिन्न ठाउँमा काम गर्ने राकेश साहले अब फेरि कमाएर घर बनाउने हिम्मत नभएको भन्दै राज्यले सहयोग गर्नु पर्ने माग गरे । फुसकै भए पनि राज्यले घर बनाइदिए ठुलो संकटमोचन हुने उनीहरूको भनाइ छ ।

आगलागीपछि खुला आकाशमुनि आइपुगेको र भएको सबै अन्नपात, लत्ताकपडा र फुसको झोपडी समेत जलेर खरानी भएको लिलावती देवी पासवानले बताइन । स्थानीय अग्नी पीडित परिवारलाई सबैभन्दा धेरै बर्षातको समयमा आउने पानीले बिचल्लीमा पार्ने चिन्ता छ । पीडित रामनाथ पासवानले आफ्ना पाँच जना बालबालिकाकोे विचल्ली भएको गुनासो गरे ।

आगलागीबाट सोही स्थानका प्रदीप पासवान, रामवली पासवान, जवाहिर पासवान, सितल पासवान, बिकाउ पासवान, जितन पासवान, रामविश्वास पासवान, गगन देव पासवान, नन्दकिशोर पासवान, सरफलाल पासवान, राकेश साह, रामनाथ पासवान र मचिन्दर पासवानको घर पूर्णरुपमा जलेर नष्ट भएको वडा नम्बर ५ का वडाध्यक्ष गजेन्द्र महतोले बताए । आगलागी हरिवन नगरपालिका र मलंगवा नगरपालिकाबाट पुगेको बारुणयन्त्र, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको थियो ।

यता गाउँपालिका अध्यक्ष राम आश्रय साहले अग्नीपीडिहरूलाई खाद्यन्न र त्रिपाल वितरण गरेको बताए । पीडित परिवारलाई २५ किलोको दरले चामल दाल, चिउरा, तेल, ग्याँस सिलिण्डर, चुलो, भाडावर्तन प्रदान गरेको उनले बताए । पिडितलाई कम्बल र त्रिपाल समेत वितरण गरेको गाउँपालिकाले जनाएको हो । ‘घर खर्च भनेर जनही ५(५ हजारका दरले नगद समेत दिएका छौँ ।’ उनले भने, ‘योभन्दा थप गर्ने गाउँपालिकाको योजना छैन् ।

यसैबीच विपद व्य्वस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले तत्कालिन ब्यवस्थापनको काम गरिएको दावी गरे । ‘घटनालगतै हामीले विभिन्न निकायसँगको सहकार्यमा केही राहत वितरण गरेका थियौँ ।’ प्रजिअ गौतमले भने, ‘त्यसबाहेक हामी सँग ठुलो कोष र वितरणको कार्यविधि हुँदैन्।’ बर्षातको समयमा नजिकिएकाले उनीहरूलाई बेलैमा सुरक्षित आवासमा फर्काउनु पर्ने उनको भनाइ छ ।

यसको लागि प्रेदश सरकार अन्तर्गतको विपद व्यवस्थापन समितिसँग समेत पालिकाले पहल गर्न सक्ने प्रजिअ गौतमले बताए ।

प्रकाशित मिति : चैत्र २०, २०७८ आईतबार  २ : २२ बजे