मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाली राजदूतद्वारा इरानी राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश



पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले इरानका राष्ट्रपति अयातोल्लाह सैयद इब्राहिम राइसीसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।

तेहरानस्थित राष्ट्रपति भवनमा सोमबार आयोजित समारोहमा इरानका गैरआवासीय राजदूतका रूपमा अधिकारीले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् । त्यसक्रममा राजदूत अधिकारीले इरानका राष्ट्रपतिको स्वास्थ्य, सुख, शान्ति र इरानका मित्रवत जनताको निरन्तर प्रगति एवं समृद्धिको कामना गरेका थिए ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवाका साथै नेपाली जनताका तर्फबाट बधाई तथा शुभकामना व्यक्त गरेको इस्लामावादस्थित नेपाली राजदूतावासले मंगलबार जनाएको छ ।

राष्ट्रपतिले नेपालका राष्ट्रपति, प्रधानमन्त्री र नेपालका जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गर्दै आफ्नातर्फबाट राष्ट्रपति भण्डारी, प्रधानमन्त्री देउवा र नेपाली जनतामा शुभकामना व्यक्त गर्न राजदूत अधिकारीलाई आग्रह गरेका छन् ।

राजदूत अधिकारीले नेपाल र इरानबीचको सम्बन्ध सधैँ आपसी विश्वास र सहयोगमा आधारित रहेको बताए । उनले नेपाल र इरान असंलग्न आन्दोलन, समूह ७७, संयुक्त राष्ट्रसङ्घलगायत अन्य महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्चमा साझा सरोकारका विभिन्न विषयमा मिलेर काम गरिरहेको पनि बताए । राजदूत अधिकारीले नेपाल र इरानबीचको सम्बन्धलाई प्रगाढ बनाउन आफूले इमान्दार प्रयास गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ६ : १२ बजे