नेपाली कांग्रेसका प्रवक्ता तथा नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक डा. प्रकाश शरण महतले नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओलीले हालै दिएको अभिव्यक्ति खेदजनक भएको बताएका छन् ।नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बुधबार अपरान्ह आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका ह,न् ।
उहाँको संयोजकत्वमा बनेको केन्द्रीय प्रचार–प्रसार समिति अन्तरगतको नेपाली कांग्रेस सांस्कृतिक समन्वय प्रचार–प्रसार उपसमितिले आयोजना गरेको निर्वाचन भिडियोको विमोचन कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट संबोधन गर्दै उनले भने,“देशमा निर्वाचन आचारसंहिता लागू भैसकेको छ तर नेकपा एमालेका अध्यक्षको मुखबाट नेपाली कांग्रेस र हामीले सार्वजनिक गरेको घोषणापत्रप्रति निकै तल्लो स्तरको अभिव्यक्ति दिनुभएको छ । सामान्य अवस्थामा पनि बोल्न नहुने अभिव्यक्ति खेदजनक छन् ।”
प्रवक्ता महतले एमालेले आचार संहिताको धज्जी उडाएको र त्यसप्रति संबन्धित निकायले ध्यानाकर्षण गर्न नसकेको भन्दै निर्वाचन आयोगप्रति रोष पनि प्रकट गरे ।
नेकपा एमालेका अध्यक्ष ओलीले मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा नेपाली काग्रेसको सङ्कल्प पत्रलाई बकवास र पागलहरुको प्रलाप भनेर तुच्छ टिप्पणी गरेका थिए ।
डा. महतले आफ्नो पार्टीले शालिनतापूर्वक निर्वाचन अभियान सञ्चालन गरेको पनि बताए ।उनले नेपाली कांग्रेसले हालै सार्वजनिक गरेको घोषणापत्र स्थानीय सरकारलाई सबल,सक्षम,उत्तरदायी र सेवाप्रवाहमुखी बनाउने ध्येयले ल्याएको नीतिगत संकल्प भएको उल्लेख गर्दै यसले जनताका अप्ठ्याराहरु समाधान गर्न सघाउने बताए ।
महतले संकल्पमा उल्लेख भए अनुसार ६५ बर्षमाथिका ज्येष्ठ नागरिकलाई भत्ता दिंदा पिछडिएको,दलित र विपन्न वर्ग लाभान्वित हुने पनि उल्लेख गरे । उनले नेपाली कांग्रेसले भ्रष्टाचारमुक्त सुशासनयुक्त सरकार दिने पनि बताए ।उनले नेपाली कांग्रेसको समाजवादले सबैलाई अवसर दिनुको साथै शिक्षा,स्वास्थ्य,आर्थिक र सामाजिक विकासमा पछाडि परेको वर्गलाई उठाउने लक्ष्य लिएको पनि उल्लेख गरे ।
उनले नेपाली कांग्रेसले राज्य सञ्चालनको अवसर पाउदा जहिले पनि जनताको र देशको हितमा काम गरेको दावी गरे । “हामी काम गछौं उनीहरु गफ गर्छन” उनले भने“तर हाम्रो काम बिकीरहेको छैन, उनीहरुको गफ बिकिरहेको छ ।”








