नेपाली प्राध्यापक झालाई चीन सरकारको अवार्ड



चीनको साङ्सी प्रान्तीय सरकारले नेपाली प्राध्यापक डा राजीवकुमार झालाई सन् २०२२ को ‘सान छिन फ्रेण्डसीप अवार्ड’ प्रदान गरेको छ । चीनको साङ्सी प्रान्तीय सरकारद्वारा प्रत्येक वर्ष प्रदान गरिने उक्त अवार्ड नेपाली प्राध्यापक झासहित सो प्रान्तमा रहेका १० देशका विशिष्ट व्यक्तित्वलाई प्रदान गरिएको हो ।

साङ्सी सरकारको सबैभन्दा ठूलो सो अवार्ड प्राप्त गर्नेमा नेपालका झासहित संयुक्त राज्य अमेरिका, बेलायत, क्यानाडा, रुस, जर्मनी, दक्षिण कोरिया, स्वीट्जरल्याण्ड, नेदरल्याण्ड्स् र सर्वियाका व्यक्तित्व रहेका छन् । उक्त प्रान्तमा रहेर चीनको आर्थिक, सामाजिक, विज्ञान प्रविधि, स्वास्थ्य, संस्कृतिको विकासका साथै चीनसँग आआफ्नो देशको अन्तर्राष्ट्रिय सम्बन्धमा योगदान पु¥याउने विज्ञहरुलाई सरकारले प्रतिस्पर्धाका आधारमा यो अवार्ड प्रदान गर्ने गर्दछ ।

साङ्सी प्रान्तमा रहेका विभिन्न देशका प्राध्यापक, अनुसन्धानदाता, चिकित्सक, वैज्ञानिक, उद्यमीलगायतका व्यक्तित्वमध्येबाट सन् २०२२ का लागि १० जना छनोट गरिएको सियानस्थित सियान मेडिकल युनिभर्सिटीले जनाएको छ । प्राध्यापक झा सोही विश्वविद्यालयमा रहेर प्राध्यापन र अनुसन्धान गर्दै आउनुभएको छ । यस अवार्डका लागि साङ्सी प्रान्तीय सरकारले सन् २०२१ को जुनमा वेभसाइटमार्फत आवेदन आह्वान गरेको थियो । सो आवेदनबाट ‘सर्ट लिस्ट’ मा परेका विज्ञहरुमध्येबाट नेपालका झा छानिनुभएको सो विश्वविद्यालयले जनाएको छ ।

सन् १९९९ देखि हरेक दुई वर्षमा प्रदान गर्दै आएको यो अवार्ड प्राप्त गर्ने प्रा डा झा पहिलो नेपाली हुन् । यसअघि प्राडा झालाई सन् २०१८ मा सियान सरकारले सियान फ्रेण्डसिप अवार्ड प्रदान गरेको थियो । प्राडा झा दुई दशकभन्दा लामो समयदेखि चीनको सियानमा प्राध्यापन र अनुसन्धान गर्दै आएका छन् ।

प्रकाशित मिति : बैशाख २१, २०७९ बुधबार  १ : १६ बजे