भारतको राजस्थानमा धार्मिक तनाव : इन्टरनेट सेवा बन्द



भारतको उत्तरी राज्य राजस्थानमा एक हिन्दु धर्मालम्बीको हत्यापछि उक्त क्षेत्रमा धार्मिक तनाव बढेको छ । पीडित कन्हैया लाल नामका दर्जीलाई मंगलबार उदयपुर जिल्लामा २ मुस्लिम पुरुषले हत्या गरेका थिए । आक्रमणकारीले हत्या गरेको भिडियो बनाएर अनलाइन पोस्ट गरेका थिए ।

इस्लाम धर्मगुरु पैगम्बर मोहम्मदबारे भारतीय नेताका विवादास्पद टिप्पणीलाई समर्थन गरेपछि प्रतिशोधस्वरूप ती व्यक्तिको हत्या गरिएको उनीहरूको दाबी छ । घटनापछि विरोध चर्केपछि राज्य सरकारले धेरै मानिसहरूलाई एकै स्थानमा भेला हुन रोक लगाएको छ । त्यसका साथै राजस्थानमा इन्टरनेट सेवा बन्द गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गत महिना भाजपाकी नेतृ नुपुर शर्माले एक टेलिभिजन बहसमा मुहम्मदबारे विवादास्पद टिप्पणी गरेका थिए । उनको अभिव्यक्तिलाई लिएर मुस्लिम देशले भारतको विरोध गरेका थिए । सत्तारुढ भाजपाले नुपुरलाई पार्टी प्रवक्ताबाट निलम्बित गरेको थियो ।

सरकारले इन्टरनेट सेवा बन्द गरेको छ र ठूला जमघटमा प्रतिबन्ध लगाएको छ । भिडियोमा आफुलाई चिनाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अर्को भिडियोमा उनीहरूले हत्याप्रति गौरव गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई धम्की समेत दिएका छन् ।भिडियो ‘हेर्नका लागि धेरै भयानक’ भन्दै राजस्थान प्रहरीले प्रसारण नगर्न मेडिया आउटलेटलाई अनुरोध गरेको छ ।

राजस्थानका मुख्यमन्त्री अशोक गेहलटले जनतालाई शान्त र संयमित रहन आह्वान गरेका छन् । भारतको केन्द्र सरकारले घटनाबारे अनुसन्धान गर्न नेसनल इन्भेस्टिगेटिभ एजेन्सी (एनआईए) लाई आदेश दिएको छ । एनआईए प्रतिआतंकवादको विषयमा अनुसन्धान गर्ने देशको प्रमुख निकाय हो ।

प्रकाशित मिति : असार १६, २०७९ बिहिबार  १० : १२ बजे