पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिले अर्थ मन्त्रालयको डिलिट भएको सीसीटीभी फुटेज रिकभरका लागि नेपाल प्रहरीको फरेन्सिक ल्याबमा पठाउने भएको छ ।
समितिका सचिव सुरेन्द्र अर्यालकाअनुसार समितिको बैठकमा विज्ञहरूले डिलिट भएको सीसीटीभी फुटेज रिकभर हुने तर रिकभर गर्ने अथोरिटी सफट्वेयर आवश्यक हुने बताएका थिए ।
उनले अर्थ मन्त्रालयले बजेट निर्माण गर्ने समयको फुटेज डिलिट भएको भन्दै अर्थ मन्त्रालयको समग्र सीसीटीभी सिस्टम नै समितिलाई दिएको बताए । उनले समितिको आजको बैठकले अर्थ मन्त्रालयको समग्र सीसीटीभी सिस्टमलाई फुटेज रिकभर गर्नको लागि प्रक्रिया पुर्याएर प्रहरीको फरेन्सिक ल्याबमा पठाउन निर्णय भएको बताए ।
मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले डिलिट भएको सिसिटिभी फुटेज रिकभर सम्भावना र उपायका विषयमा नेपाल प्रहरी अन्तर्गतको साइबर ब्यूरोका विज्ञ र इन्जिनियरिङ अध्ययन संस्थानमा कार्यरत विज्ञसँग सुझाव लिएका थिए ।
सचिव अर्यालले समितिले संसदले समितिलाई दिएको क्षेत्राअधिकारभित्र रहेर छानबिन कार्य गरिरहेको बताए। उनले बुधवार वा बिहीबार बस्ने समिति बैठकमा निःर्वतमान अर्थमन्त्री शर्मालाई सोधपुछको लागि बोलाउने तयारी रहेको पनि बताए।








