अर्थ मन्त्रालयको सिसिटिभी फुटेज प्रहरीको फरेन्सिक ल्याबमा रिकभर गरिने



पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिले अर्थ मन्त्रालयको डिलिट भएको सीसीटीभी फुटेज रिकभरका लागि नेपाल प्रहरीको फरेन्सिक ल्याबमा पठाउने भएको छ ।

समितिका सचिव सुरेन्द्र अर्यालकाअनुसार समितिको बैठकमा विज्ञहरूले डिलिट भएको सीसीटीभी फुटेज रिकभर हुने तर रिकभर गर्ने अथोरिटी सफट्वेयर आवश्यक हुने बताएका थिए ।

उनले अर्थ मन्त्रालयले बजेट निर्माण गर्ने समयको फुटेज डिलिट भएको भन्दै अर्थ मन्त्रालयको समग्र सीसीटीभी सिस्टम नै समितिलाई दिएको बताए । उनले समितिको आजको बैठकले अर्थ मन्त्रालयको समग्र सीसीटीभी सिस्टमलाई फुटेज रिकभर गर्नको लागि प्रक्रिया पुर्‍याएर प्रहरीको फरेन्सिक ल्याबमा पठाउन निर्णय भएको बताए ।

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले डिलिट भएको सिसिटिभी फुटेज रिकभर सम्भावना र उपायका विषयमा नेपाल प्रहरी अन्तर्गतको साइबर ब्यूरोका विज्ञ र इन्जिनियरिङ अध्ययन संस्थानमा कार्यरत विज्ञसँग सुझाव लिएका थिए ।

सचिव अर्यालले समितिले संसदले समितिलाई दिएको क्षेत्राअधिकारभित्र रहेर छानबिन कार्य गरिरहेको बताए। उनले बुधवार वा बिहीबार बस्ने समिति बैठकमा निःर्वतमान अर्थमन्त्री शर्मालाई सोधपुछको लागि बोलाउने तयारी रहेको पनि बताए।

प्रकाशित मिति : श्रावण ३, २०७९ मंगलबार  ९ : ०० बजे