प्रधानमन्त्री देउवाद्वारा कांग्रेस नेता वादेको निधनप्रति दुःख व्यक्त



प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको प्रजातान्त्रिक आन्दोलनका एक अथक योद्धा एवं कांग्रेस काभ्रेका पहिलो पुस्ताका नेता गोपालदास वादेको निधनप्रति दुःख व्यक्त गरेका छन् । वादेको ९७ वर्षको उमेरमा आज बिहान काभ्रेको बनेपास्थित आफ्नै निवासमा निधन भएको हो ।

सभापति देउवाले आज एक शोक वक्तव्यमार्फत कांग्रेसको सङ्गठन निर्माण र नेपालको प्रजातान्त्रिक आन्दोलनमा वादेले पु¥याउनुभएको सक्रिय योगदानको स्मरण गर्दै उनिप्रति श्रद्धाञ्जलि र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । सभापति देउवाले उनको निधनबाट कांग्रेसले एक असल र निष्ठावान नेतालाई गुमाएको उल्लेख गरेका छन् ।

भारतको कोलकतामा भएको कांग्रेसको महाधिवेशनमा भाग लिनुभएका उनका दाजु राजदास वादेको प्रेरणाबाट उहाँ कांग्रेसको सक्रिय राजनीतिमा प्रवेश गरेका थिए । जननायक वीपी कोइराला, लौहपुरुष गणेशमान सिंह, सन्त नेता कृष्णप्रसाद भट्टराईको सानिध्यतामा रहेर उनले कांग्रेसको सङ्गठन निर्माण र प्रजातान्त्रिक आन्दोलनमा उल्लेखनीय भूमिका निर्वाह गरेको कांग्रेस पार्टी कार्यालयले जनाएको छ ।

विसं २००३ देखि कांग्रेसमा आबद्ध रहनुभएका स्व वादे सामाजिक कार्यमा समेत उत्तिकै सक्रिय थिए । वादे परिवारको सहयोगमा बनेपामा शिर मेमोरियल अस्पतालको समेत स्थापना भएको थियो । उनि कांग्रेस बागमती प्रदेशका महामन्त्री एवं पूर्वराज्यमन्त्री कञ्चनचन्द्र वादेका पिता हुन् । स्व वादेका दुई छोरा र दुई छोरी छन् । उनको निधनबाट कांग्रेसले प्रजातान्त्रिक आन्दोलनका एक अग्रज नेतालाई गुमाएको जनाएको छ ।

प्रकाशित मिति : श्रावण १८, २०७९ बुधबार  ८ : ४६ बजे