मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सम्पत्तिको ५० प्रतिशत ट्रष्टमार्फत शिक्षा र स्वास्थ्यमा खर्च गर्ने राज्यमन्त्री उमेश श्रेष्ठको घोषणा



प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले आफ्नो सम्पत्तिको ५० प्रतिशत शिक्षा र स्वास्थ्यमा खर्च गर्ने घोषणा गरेका छन् ।

आइतबार भरतपुर आँखा अस्पतालको निरीक्षणपछि उनले ट्रष्ट फाउण्डेशनमार्फत् शिक्षा र स्वास्थ्यमा खर्च गर्ने घोषणा गरेका हुन् ।

‘ठूला लगानी रोकेर आयको आम्दानीबाट सामाजिक क्षेत्रमा सेवा गर्ने सोच बनाएको छु, चार नाफारहित अस्पताल बनाउँदैछु,’ उनले भने ,“अरु ठाउँबाट कमाएर सेवाको भावनाले खोल्नुपर्छ भनेर चार अस्पताल बनाउँदैछु ।”

उनी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेको समयमा उनले आफ्ना १०० दिने कार्ययोजना सार्वजनिक गर्दै सुरक्षाकर्मी बाहेक गाडी, तलब भत्ता र आवासको सुविधा नलिने घोषणा गरेका थिए ।

उनले राज्यमन्त्रीमा रहँदासम्म आफ्ना कुनै पनि व्यापारिक संस्थाको पदमा नरहने घोषणा पनि गरेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले गएको साउन १० गते उनलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका थिए । त्यसको केही समयपछि उनी तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री बने ।

श्रेष्ठ लिटिल एञ्जेल्स स्कुलका सञ्चालक हुन् । उनको अन्य धेरै क्षेत्रमा पनि लगानी छ । नेपालमा शिक्षा क्षेत्रमा परिचित श्रेष्ठको जलविद्युत्मा मात्रै ४० अर्बभन्दा बढी लगानी रहेको छ ।

श्रेष्ठको लगानीमा ९ वटा जलविद्युत् आयोजना छन् । तीमध्ये अधिकांश जलविद्युत् आयोजना निर्माणको क्रममा छन् । त्यसबाहेक उनले पर्यटन क्षेत्रतर्फ चितवनमा सिराइचुली, सेन्ट्रलपार्क लगायतका होटलमा लगानी गरेका छन् धुलिखेलमा रहेको हिमालयन दृश्य रिसोर्टमा पनि उनको लगानी छ ।

यस्तै, उनको तनहुँमा घाँसी एग्रो रिसर्च एण्ड रिसर्च प्रालि, जनमैत्री अस्पताल र महेन्द्र नारायण निधि अस्पताल सञ्चालनमा पनि उनले लगानी गरेका छन् । पोखरामा पनि उनकै लगानीमा एउटा होटल छ ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ३ : ४५ बजे