नेपाली प्रजातान्त्रिक आन्दोलनका अमर शहीद केशव कोइरालाको स्मृतिमा निर्मित ‘शहीद केशव कोइराला सभाकक्ष’ शुक्रबार उद्घाटन गरिएको छ । महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित श्रीराम माध्यमिक विद्यालय परिसरमा निर्मित सभाकक्ष नगरप्रमुख हरिप्रसाद मण्डलले शुक्रबार उद्घाटन गर्नुभएको हो । सभाकक्ष रु ३७ लाख लागतमा मटिहानी नगरपालिकाले निर्माण गरेको हो । विसं २००७ मा पूर्वी नेपालको ओखलढुङ्गामा जन्मेर महोत्तरीलाई प्रजातान्त्रिक आन्दोलनको कर्मक्षेत्र बनाउनुभएका शहीद कोइरालाको सहादतलाई चिरस्थायी बनाउन सभाकक्ष निर्माण गरिएको मटिहानी नगरपालिकाले जनाएको छ । नेपाली कांग्रेसमा आबद्ध भएर प्रजातन्त्र पुनःस्थापनाको आन्दोलनमा होमिनुभएका कोइरालाको सहादतले आफ्नो ठाउँ धार्मिकस्थल मात्र नभएर शहीद भूमि पनि बनेको नगरप्रमुख मण्डलको भनाइ छ ।
मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ ९संस्कृत क्याम्पस० मा अध्ययनरत रहेकै बेला कांग्रेसको सशस्त्र आन्दोलनमा लाग्नुभएका कोइरालालाई महोत्तरीवासीले आदरका साथ सम्झने गरेका छन् । कोइरालाले २०३१ साल साउन ३१ गते मटिहानी प्रहरीचौकीमा प्रतीकात्मक बम विष्फोट गर्ने क्रममा प्रहरीको गोली लागेर निधन भएको थियो ।
मटिहानी प्रहरीचौकीमा विष्फोटको योजना बनाउने तत्कालीन नेपाली कांग्रेसका नेता गणेश नेपाली, बलराम शर्मा, महेश कोइराला, श्रीधर झा र केशव कोइरालामध्ये २०३१ साल साउन ३१ गते राति चौकीमा विष्फोटको जिम्मेवारी साथीहरुबीच लिनुभएका कोइरालाले विष्फोट गराएलगत्तै प्रहरीले गरेको फायरिङमा उहाँको निधन भएको थियो । कोइराला कलकलाउँदो २४ वर्षे उमेरमा काखकी छोरी र पत्नीलाई छाडेर प्रजातान्त्रिक आन्दोलनमा लाग्नुभएको थियो । शहीद कोइरालाका परिवारमा धर्मपत्नी गुणकुमारी, छोरी समिता र छोरीतर्फका दुई नाति रहेका छन् । समिताका पति उज्जल बराल कांग्रेस सिन्धुलीका नेता हुनुहुन्छ ।
महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित श्रीराम माध्यमिक विद्यालय परिसरमै रहेको सहादतस्थलमा शहीद स्मारकस्थल निर्माणाधीन छ । अब आउने माघ १६ गते शहीद दिवसको दिन शहीद केशव कोइरालाको अर्धकदको ढलोटको प्रतिमा अनावरण गरिने कार्यक्रम उहाँको ४८ औँ स्मृति दिवसकै अवसरमा गत साउन ३१ गते मटिहानीमा घोषणा गरिएको थियो ।
विसं २०५४ मा पूर्वप्रधानमन्त्री स्व कृष्णप्रसाद भट्टराईले सहादतस्थल पार्क निर्माण कार्यको शिलन्यास गर्नुभएको थियो । शहीद कोइरालाको सहादतस्थलमा अग्लो चतुर्भजाकारको किल्ला बनाएर फलामे घेरा लगाउने योजनासाथ शिलान्यास गरिएको काम केही अघि बढे पनि सम्भार र संरक्षणको पक्ष अत्यन्त कमजोर रहेको मटिहानीवासी बताउँछन् । सहादतस्थलको मर्मतसम्भार र सरसफाइमा सम्बद्धपक्ष उदासिन देखिएका मटिहानीवासीको गुनासो छ । “शहादतस्थल रुग्ण खण्डहरजस्तो देखिन्छ, यसको सम्भारमा मटिहानी नगरपालिका र सामाजिक सङ्घ संस्थाले चासो देखाउन आवश्यक छ”, मटिहानीकै बासिन्दा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य विजयकुमार साह भन्नुहुन्छ ।
शहीद कोइरालाको स्मृतिमा ‘शहीद केशव कोइराला स्मृति प्रतिष्ठान मटिहानी ९महोत्तरी०’ स्थापित छ । प्रतिष्ठानले सहादतस्थलको सम्भारमा बढी जिम्मेवारी बहन गर्नुपर्ने साहको भनाइ छ । सहादतस्थलमा पार्क निर्माणको काम पछिल्ला दुई आर्थिक वर्षयता नियमित हुँदै आएको छ । सहादतस्थलको पार्कमा चौतर्फा डण्डी फेर्ने, सहादतस्थलमा खरीढुङ्गा ओछ्याउने र परिसरलाई घेर्ने काम भए पनि नियमित सरसफाइ नभएको गुनासो बढी छ । सहादतस्थलसम्बन्धी कामका लागि मटिहानी नगरपालिकाले विगत वर्षहरुमा प्रतिष्ठानलाई रकम उपलब्ध गराएको मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डल बताउनुहुन्छ ।