म्याग्दी, ६ कात्तिक । म्याग्दीमा सत्तारुढ दलको गठबन्धन र नेकपा (एमाले)का उम्मेदवार मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा मुख्य प्रतिस्पर्धीका रूपमा देखिएको छ ।
प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई क्षेत्र रहेको म्याग्दीमा तीन पदका लागि १९ जना चुनावी मैदानमा छन् । प्रतिनिधिसभामा तीन जना स्वतन्त्रसहित नौ, प्रदेशसभा क्षेत्र ९क० र ९ख० मा पाँच–पाँच उम्मेदवार छन् । विसं २०५६ मा नेपाली कांग्रेस, २०६४ मा नेकपा (माओवादी केन्द्र), २०७० र २०७४ मा एमालेले जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचन जितेका छन् । प्रजातन्त्र पुनःस्थापनापछि २०५६ अघिको संसदीय चुनाव पनि एमालेले जितेको थियो ।
विसं २०७४ मा एकवटा प्रदेशसभा माओवादी र एकवटा एमालेले जितेका थिए । पाँच वर्षअघिको संसदीय चुनावमा एमाले–माओवादी र कांग्रेस–राप्रपाले तालमेल गरेका थिए । एमाले विरासत जोगाउने र अन्य दल गठबन्धनको बलमा जित निकाल्ने रणनीतिमा छन् ।
गत स्थानीय तह निर्वाचनमा एमालेले चारवटा पालिका प्रमुख, तीन उपप्रमुख, २२ वडा, कांग्रेसले दुई अध्यक्ष, एक उपाध्यक्ष, १७ वडा, माओवादीले दुई उपप्रमुख र छवटा वडा जितेका थिए । स्थानीय चुनावमा एमालेका वडाध्यक्षका उम्मेदवारले २३ हजार ९०, कांग्रेसले १९ हजार आठ सय ७० र माओवादीले आठ हजार पाँच सय ९२ मत ल्याएका थिए ।
प्रतिनिधिसभामा कांग्रेस– एमालेको प्रतिस्पर्धा
प्रतिनिधिसभा सदस्यमा एमालेका हरिकृष्ण श्रेष्ठ र गठबन्धनबाट कांग्रेसका खमबहादुर गर्बुजा ९खम्बिर० उम्मेदवार छन् । कांग्रेसका जिल्ला सभापति गर्वुजा तेस्रोपटक चुनावी मैदानमा उत्रिएका हुन् । यसअघि दुई चुनाव हारेका गर्बुजालाई यसपालि सत्तारुढ दल माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाको साथ छ ।
गठबन्धनसँग एकल प्रतिस्पर्धा गर्न एमालेले प्रतिनिधिसभा सदस्यका लागि दुई कार्यकाल जिल्ला अध्यक्ष भएका प्रदेश कमिटीका सचिवालय सदस्य श्रेष्ठको नाम एकल सिफारिस गरेको थियो । “जिल्ला कमिटीले प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत एकल नाम सिफारिस गरेकाले कार्यकर्तामा उत्साह छ”, श्रेष्ठ भन्छन्, “विसं २०७४ मा दुईवटा मात्र स्थानीय तह जितेका थियौँ । गत चुनावमा चारवटा पालिका जितेका छौँ । यो पनि हाम्रो जितको आधार हो ।”
जिल्ला सदरमुकाम बेनी बजार अवस्थित तत्कालीन अर्थुङ्गे गाविसको एक कार्यकाल अध्यक्ष भएका श्रेष्ठले बेनी खानेपानी, रेडक्रस, म्याग्दी पुस्तकालयलगायत सामाजिक सङ्घसंस्थाको पनि नेतृत्व गरेका थिए । सदरमुकाम बेनीका बासिन्दा श्रेष्ठ र रघुगङ्गा गाउँपालिका–४ दग्नामका गर्बुजाको उमेर समान ५७–५७ वर्ष छ ।
कांग्रेस म्याग्दीको दोस्रो कार्यकालका लागि बाहलवाला सभापति रहेका गर्बुजा बेलायती सेनाबाट सेवानिवृत्त भएपछि करिब २० वर्षदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ । स्थानीय तह निर्वाचनमा गठबन्धनका दलहरू बेनी नगरपालिकाको प्रमुख–उपप्रमुखसहित पाँच वडामा र धवलागिरि गाउँपालिकाको सबै पदमा तालमेल गरेका थिए ।
जिल्लाव्यापी तालमेल नहुँदा स्थानीय तह चुनावमा अपेक्षाकृत नतिजा हासिल गर्न नसकेको ठहर गरेका नेपाली कांग्रेस, माओवादी र एकीकृत समाजवादी गठबन्धनको बलमा यसपालि नतिजा आफ्नो पक्षमा पार्ने रणनीतिमा छन् ।
“स्थानीय तहको चुनावमा गठबन्धनको मत एमालेको भन्दा धेरै छ । जिल्ला, पालिका र वडा तहसम्म संयुक्त चुनावी अभियानमा छौँ”, गर्बुजाले भने “२०७४ को चुनावमा कम्प्युनिष्ट पार्टीहरूबीचको तालमेल भएको अवस्थामा म्याग्दीमा कांग्रेसले कडा प्रतिस्पर्धा गरेको हो । अहिले माओवादी, एकीकृत समाजवादी, जनमोर्चाको साथ छ । मतदाताको परिवर्तित मनोभावनाले पनि गठबन्धनलाई सहयोग पुग्छ ।”










