नेपाल मजदुर किसान पार्टीको घोषणापत्र सार्वजनिक



काठमाडौं, ८ कार्तिक । नेपाल मजदुर किसान पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मंगलवार काठमाडौंमा एक औपचारिक कार्यक्रमका बीच नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीको घोषणा सार्वजनिक गरेका हुन् ।

सो क्रममा पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले एमसीसीको आलोचना गरेका छन् । उनले एमसीसीको कारणले नेपाल युद्धमा फस्ने दाबी गरेका छन् । अध्यक्ष विजुक्छेले आफ्नो दल सुरुदेखि नै एमसीसीको विपक्षमा रहेको पनि उल्लेख गरे ।

देशमा विकराल समस्या देखा परिरहेको बताउँदै बिजुक्छेले संसारमा तेस्रो विश्वयुद्धको सम्भावना देखिएको भन्दै निर्वाचनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको विषयमा जनतालाई जानकारी गराउने बताए ।

घोषणापत्रमा नेपालको सम्पती र पुँजीलाई विदेशमा लान नपाउने ऐन, कानून तत्काल बनाउनुपर्नेमा जोड दिइएको छ । त्यस्तै अपराधीहरूको पक्ष लिने र अपराधलाई प्रोत्साहन गर्नेहरुलाई कानून उल्लंघन गरेको अपराध मानि दण्ड, जरिवाना, असुल उपर गराउने गरी नयाँ विधेयक निर्माणका लागि पार्टीले आवाज उठाउने उल्लेख गरिएको छ ।

प्रकाशित मिति : कार्तिक ८, २०७९ मंगलबार  ५ : ०४ बजे