विसं २०४८ देखि नेपाली कांग्रेसले जित्दै आएको नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को क्षेत्र नम्बर १ बाट यसपटक पनि महामानव वीपी कोइरालाका पुत्र नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शशाङ्क कोइराला चौथो पटक निर्वाचनमा होमिएका छन्। डा कोइरालाको प्रतिस्पर्धीका रुपमा नेकपा एमालेका केन्द्रीय सदस्य कृष्णप्रसाद पौडेलले उम्मेदवारी दिएका छन् ।
कोइराला यस क्षेत्रबाट संविधानसभा निर्वाचन २०६४, २०७० र प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा भारी मतका साथ विजयी भएका थिए।
नवलपुर क्षेत्र नम्बर १ कांग्रेसको सुरक्षित निर्वाचन क्षेत्र र राष्ट्रिय राजनीतिमा प्रभाव पार्नसक्ने व्यक्ति भएकाले कोइरालाको विकल्प नभएको कांग्रेसको दाबी छ ।
यहि क्षेत्रबाट विसं २०७० को निर्वाचनमा कोइराला १८ हजार दुई सय २८ मत ल्याएर विजयी बने भने २०७४ सालको निर्वाचनमा कोइराला ३६ हजार छ सय ५२ मतसहित विजयी भएका थिए।
अघिल्लो प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनको दबदबा रहेका बेला जित निकालेका डा कोइराला यसपटक गठबन्धन आफ्नो पक्षमा रहेकाले जित सहज भएको बताउँछन्। गठबन्धनले कोइरालालाई सहज बाटो बनाएको कांग्रेसका तर्फबाट गैँडाकोट नगरप्रमुखमा निर्वाचित मदनभक्त अधिकारी बताउँछन्।गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतलाई हेर्दा कांग्रेसलाई केही सहज देखिन्छ।
नवलपुरको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ मा बौदीकालीका छ, बुलिङटारका छ, गैँडाकोटका १८, देवचुलीका १७ र कावासोतीका ११ गरी ५८ वडा रहेका छन्।
यस क्षेत्रमा एमालेका पालिका प्रमुख तथा अध्यक्षले प्राप्त गरेको मत ३४ हजार चार सय ४७ ९कावासोती नगरपालिकाको समेत जोड्दा ५३ हजार ५५० रहेको छ। त्यस्तै कांग्रेसका पालिका प्रमुख तथा अध्यक्षले प्राप्त गरेको मत ३५ हजार एक सय छ ९कावासोती नगरपालिकाको समेत जोड्दा ५३ हजार चार सय १०० रहेको छ।
नवलपुरको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख ३१ हजार एक सय ८१ मतदाता रहेका छन्। यहाँ ६२ हजार पाँच सय ९६ पुरुष, ६८ हजार पाँच सय ८४ महिला र तेस्रो लिङ्गी एक मतदाताले ५७ मतदान स्थलका एक सय ५३ मतदान केन्द्रबाट मतदान गर्ने जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालले जानकारी दिए।
नवलपुर(१ मा प्रतिनिधिसभातर्फ कोइराला र पौडेलसहित १५ जनाले उम्मेदवारी मनोनयन गराएका छन्। पाँच स्वतन्त्रका साथै जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, हाम्रो नेपाली पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपालका लागि नेपाली पार्टी, मङ्गोल नेशनल अर्गनाइजेसन, राष्ट्रिय जनमुक्ति पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारसमेत चुनावी मैदानमा छन्। मुख्यतया कोइराला र पौडेलबीच नै चुनावी प्रतिस्पर्धा हुने बताइएको छ।










