बागलुङमा निर्वाचनको तयारी अन्तिम चरणमा



आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय बागलुङले अस्थायी मतदाता सङ्ख्या सङ्कलन गरेको छ ।

जिल्लामा दुई हजार ४८ अस्थायी मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ती मतदाताले प्रतिनिधिसभा सदस्यतर्फ समानुपातिक मतदान गर्न पाउने भएका हुन् । जिल्ला कारागारमा रहेका ५२ जना कैदीबन्दी र निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मी गरी दुई हजार ४८ जना अस्थायी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख यज्ञप्रसाद रिजालले जानकारी दिए । निर्वाचन आयोगले निर्णय गरेअनुसार नै जिल्लामा अस्थायी मतदाताले मतदान गर्न पाउन व्यवस्था गरेको उनको भनाइ छ ।

उनका अनुसार अस्थायी मतदाताले मतदान गर्नका लागि अस्थायी मतदान केन्द्रसमेत बनाइने छ । कैदीबन्दी र जिल्ला सदरमुकाम रहेका कर्मचारी तथा सुरक्षाकर्मीले जिल्ला समन्वय समितिको कार्यालय र कारागारमा निर्माण गरिने मतदानस्थलमा मतदान गर्ने पाउने उनको भनाइ छ । सदरमुकामभन्दा बाहिर खटिएका कर्मचारी तथा सुरक्षाकर्मीले पायक पर्ने मतदान केन्द्रमा मतदान गर्न पाउने व्यवस्था गरिएको जनाइएको छ ।

“यस पटक निर्वाचन आयोगले नै अस्थायी मतदाताका लागि मतदान गर्न पाउने व्यवस्था गरेको छ, सोहीअनुसार हामीहरुले बागलुङमा पनि त्यो व्यवस्था मिलाएका छौँ, अस्थायी मतदाताले प्रतिनिधिसभातर्फ समानुपातिक मतदान गर्न पाउनुहुने छ”, प्रमुख रिजालले भने, “त्यसका लागि जिल्ला निर्वाचन कार्यालयले दुई अस्थायी मतदानस्थलसमेत निर्माण गर्ने भएको छ, एउटा जिल्ला समन्वय समितिको भव र अर्को कारागारमा हुनेछ, यहाँ वरपर भएका कर्मचारी तथा सुरक्षाकर्मीले यही मतदान गर्नु हुनेछ भने अन्यले पायक पर्ने स्थानमा मतदान गर्न पाउने व्यवस्था मिलाएका छौँ ।”

उनले निर्वाचन तयारीलाई अन्तिम चरणमा पु¥याएको बताए । निर्वाचन आयोगले पठाएका निर्वाचन सामग्रीलाई रुजु गर्ने, प्याकेजिङ गर्ने र मतदानस्थलसम्म पठाउनको लागि व्यवस्थापन गर्ने कार्यलाई तीव्र बनाएको बनाएको उनको भनाइ छ । अघिल्लो पटक ठूलो सङ्ख्यामा मत बदर भएको हुँदा यसपालि गाउँ–गाउँमा स्वमंसेविका खटाएर मतदाता शिक्षा दिन थालेको उनले जानकारी दिए । उनले केही दिनदेखि जिल्लाका १० वटै स्थानीय तहसँग समन्वय गरेर मतदाता शिक्षालाई तीव्र बनाएको बताउनुभयो । जिल्लामा निर्वाचनसम्बन्धी अधिकांश सामग्री आइसकेको उनको भनाइ छ ।

प्रकाशित मिति : कार्तिक २८, २०७९ सोमबार  १० : ५७ बजे