काठमाडौँ, २८ मङ्सिर । हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा चार हजार दुई सय ८५ जना ९७६।०४ प्रतिशत० उम्मेदवारको धरौटी रकम जफत भएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ ।
सो प्रावधानबमोजिम प्रतिनिधिसभातर्फ एक हजार नौ सय ६१ जना तथा प्रदेशसभातर्फ दुई हजार तीन सय २४ जना गरी चार हजार दुई सय ८५ उम्मेदवारको धरौटी रकम जफत भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले समानुपातिक निर्वाचनको परिणाम घोषणा गरेसँगै यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा आज सार्वजनिक गरेको हो ।
यसैगरी, समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनमा कुनै राजनीतिक दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने व्यवस्था छ । सो प्रावधानबमोजिम प्रतिनिधिसभातर्फ बन्दसूची पेश गर्ने ४७ दलमध्ये ४० दल र प्रदेशसभातर्फ प्रदेश नं १ मा ३०, मधेश प्रदेशमा २६, बागमती प्रदेशमा ३३, गण्डकीमा २४, लुम्बिनी प्रदेशमा २२, कर्णाली प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा २८ वटा दलको धरौटी जफत भएको आयोगले जनाएको छ ।










