देउबाइतर समूहको उमेदवार गगन थापा, शेखर कोइरालाले नै प्रस्ताव गर्ने



काठमाडौं, ५ पुस । नेपाली कांग्रेसको शेखर–गगन समूहको बैठक बसिरहेको छ । कांग्रेस संसदीय दलको निर्वाचन प्रक्रिया सुरु भइसकेको अवस्थामा सो समूहको बैठक बसिरहेको हो ।

शेखर–गगन समूहले दलको नेताको उमेदवारमा गगन थापालाई अघि सार्ने भएको उच्च स्रोतले जानकारी दिएको छ । जानकारीअनुसार थापालाई नै शेखर कोइरालाले प्रस्ताव गर्ने तयारी छ ।बैठकमा उपसभापति धनराज गुरुङ, चन्द्र भण्डारी, अर्जुन नरसिंह केसी, मिनेन्द्र रिजाल, बलबहादुर केसी र दिलेन्द्र बडू लगायतका नेता सहभागी थिए ।

त्यसका लागि सिंहदरबार नजिकै रहेको एक होटलमा आफू पक्षका केन्द्रीय सदस्य र सांसदहरुसँग सो समूहले छलफल गर्ने भएको छ ।

गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअघि आफूलाई भावी कांग्रेस संसदीय दलको नेता र प्रधानमन्त्रीको रुपमा अघि सारेका महामन्त्री गगन थापाले यसअघि देखिनै संसदीय दलको नेतामा उम्मेदवारी दिने तयारीमा थिए ।

उनलाई अर्का महामन्त्री विश्वप्रकाश शर्मासहितका युवा नेताको समर्थन छ ।

प्रकाशित मिति : पुस ५, २०७९ मंगलबार  १२ : ३१ बजे