काठमाडौं, ७ माघ । प्रतिनिधिसभाको उपसभामुखमा सत्तारुढ गठबन्धनकी उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर विजयी भएकी छन् ।
प्रतिनिधिसभाको शनिबारको बैठकमा राष्ट्रिय स्वतन्त पार्टीकी सोबिता गौतमले राखेको इन्दिरा रानामगरलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए ।
सभामुख घिमिरेका अनुसार उक्त प्रस्तावको पक्षमा १६६ मत, विपक्षमा ९७ मत र मत दिन्नँ भन्नेमा १ मत परेको छ । बैठकमा २६४ जना सांसदको उपस्थिति रहेकोले रानामगरले पाएको मतले उनलाई सभामुखखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको सभामुख घिमिरेले जानकारी दिए ।
सत्तारुढ गठबन्धनकी उम्मेदवार रानामगरलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएसँगै नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी मुक्ताकुमारी यादवलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिरहनुनपर्ने सभामुख घिमिरेले जानकारी दिए ।
उपसभामुख पदमा दुईजनाको उम्मेदवारी परेको थियो । उपसभामुखमा सत्तारुढ गठबन्धनबाट इन्दिरा रानामगर र कांग्रेसबाट यादवले उम्मेदवारी दर्ता गरेकी थिइन् ।










