मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड नेपालमा



१५ माघ २०७९, काठमाडौं । संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आज काठमाडौं आइपुगेकी छन् । दुईदिने नेपाल भ्रमणका क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने यहाँस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

साथै, उनले नेपालको अनुपम सांस्कृतिक सम्पदाको अनुभव पनि सँगाल्नु हुनेछ । उनले सन् २०२१ को अप्रिलमा राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्रीका रूपमा शपथ लिएकी हुन् ।

त्यसअघि, उनी वासिङ्टन डिसीमा अवस्थित विश्वव्यापी रणनीतिक परामर्श तथा वाणिज्य कूटनीति फर्म अल्ब्राइट स्टोनब्रिज ग्रुपमा वरिष्ठ परामर्शदाताका रूपमा कार्यरत थिइन् ।

उपविदेशमन्त्री नुल्यान्ड ब्रुकिङ्स इन्स्टिच्युसनमा गैरआवासीय सिनियर फेलो, येल विश्वविद्यालयमा बृहत् रणनीतिक विशिष्ट अभ्यासकर्ता र नेसनल इन्डाउमेन्ट फर डेमोक्रेसीको सञ्चालक समितिकी सदस्य पनि रहिसकेकी छन् ।

३३ वर्षयता अमेरिकी कूटनीतिज्ञ रहेकी उनी अमेरिकी राष्ट्रपति बाराक ओबामा र विदेशमन्त्री जोन केरी मातहत सन् २०१३ को सेप्टेम्बरदेखि २०१७ को जनवरीसम्म युरोपेली तथा युरेसियन मामिलासम्बन्धी सहायक विदेशमन्त्रीका रूपमा सेवारत थिइन् ।

उनी अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनको कार्यकालताका विदेश मन्त्रालयकी प्रवक्ता थिइन् । राष्ट्रपति जर्ज डब्ल्यू बुसको दोस्रो कार्यकालमा सन् २००५ देखि २००८ सम्म नेटोका लागि अमेरिकी राजदूत थिइन् ।

उपविदेशमन्त्री नुल्यान्डले सन् २०१० देखि २०११ सम्म युरोपमा पारम्परिक हतियार नियन्त्रण सन्धिसम्बन्धी विशेषदूत तथा प्रमुख वार्ताकारका रूपमा र सन् २००३ देखि २००५ सम्म अमेरिकी उपराष्ट्रपति डिक चेनीको उपराष्ट्रिय सुरक्षा सल्लाहकारका रूपमा सेवा गरेकी थिइन् ।

उनले ब्रसेल्सस्थित नेटोमा दुई कार्यकालका साथै अमेरिका बाहिर रुस, चीन र मङ्गोलियाका साथै वासिङ्टनस्थित विदेश मन्त्रालयमा विभिन्न ओहोदामा रही काम गरिसकेकी छन् । उनले ब्राउन विश्वविद्यालयबाट इतिहास विषयमा स्नातक गरेकी छन् । रासस

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ८ : ४८ बजे