रवि अयोग्य भपएछि आफू सांसदमा स्वतः विजयी हुनुपर्ने माग राख्दै उमेश श्रेष्ठ निर्वाचन आयोग जाँने



२०७९ माघ २२,काठमाडौं । सर्वोच्च अदालतले चितवन क्षेत्र नम्बर २ बाट चुनाव जितेका रवि लामिछानेको पद खारेज गरिदिएपछि निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठले आज सांसद दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिने भएका छन् ।

आयोगमा बिहान साढे ११ बजे सांसद दाबी गर्दै निवेदन दिएर उनले दिउँसो २ बजे ललितपुरस्थित हिमालय होटलमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम राखेका छन् ।

सर्वोच्च अदालतको फैसला पछि रवि लामिछानेको सांसद पदसँगै खारेज गरेपछि उपप्रधान एवं गृहमन्त्रीसँगै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद पनि गुमेको थियो ।

गत आइतबार नागरिकता पुनः प्राप्तिपछि भने उनले रास्वपाको सभापति पाएका थिए ।

चितवन २ मा उपनिर्वाचन गनुपर्ने बताइरहेका बेला उमेश श्रेष्ठको निवेदनलाई निर्वाचन आयोगले कसरी हेर्छ भन्ने महत्वपूर्ण छ ।

मंसिर ४ गते भएको निर्वाचनमा चितवन २ बाट रविले ४९ हजार ३०० मत पाउँदा उपविजेता बनेका श्रेष्ठले १४ हजार ९८८ मत पाएका थिए ।

त्यस्तै एमालेका कृष्णभक्त पोख्रेलले १४ हजार ६५२ मत पाएका थिए । राप्रपाका रविन अधिकारीले ९५५ मत ल्याएका थिए ।

रवि अनधिकृत ठहरिएपछि कांग्रेसका उमेश श्रेष्ठले आफू स्वतः विजेता घोषित हुन पाउनु पर्ने माग गरिरहेका छन् ।

प्रकाशित मिति : माघ २२, २०७९ आइतबार  ९ : ४८ बजे