निर्वाचन व्यवस्थापनमा सुधार गर्न आयोग प्रतिबद्ध : थपलिया



प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जनताले लोकतन्त्रको सार्थक अनुभूति गर्ने माध्यम निर्वाचन भएको बताएका छन् ।

निर्वाचन प्रणाली र व्यवस्थापन प्रक्रियाबारे निर्वाचन आयोग र नीति अध्ययन प्रतिष्ठानले गरेको अध्ययनको प्रारम्भिक निष्कर्षको प्रस्तुतिकरण गर्न सिंहदरबारमा आज आयोजित कार्यक्रममा उनले निर्वाचन व्यवस्थापनमा सुधार गरी स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन गराउने जिम्मेवारी आयोगमा रहेकोले त्यसका लागि समयानुकूल परिष्कृत निर्वाचन कानूनको आवश्यकता रहेको औँल्याए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले निर्वाचन व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्र तथा मौजुदा कानूनमा संशोधन र परिमार्जन गर्नुपर्ने विषय पहिचान गरी राजनीतिक दल तथा अन्य सरोकारवालाको राय सुझावसहित निर्वाचन व्यवस्थापन र सञ्चालन सुझावसहित एकीकृत कानूनको मस्यौदा तयार भइसकेको जनाए ।

“यो विधयेक छिटोभन्दा छिटो संसद्बाट पारित गर्न नेपाल सरकार तथा राजनीतिक दलबाट सहयोग हुनेछ भन्ने पूर्ण विश्वास गरेको छु । तथ्यलाई मध्यनजर गरी निर्वाचन व्यवस्थापन सुधारका विधि र प्रक्रियामा सधैँ, सबै,सँगै हुने विश्वासका साथ म राजनीतिक दल लगायत सबै सरोकारवालाबाट निरन्तर सहयोगको अपेक्षा गर्दछु”, उनले भने ।

प्रकाशित मिति : माघ २६, २०७९ बिहिबार  ७ : २१ बजे