सर्वसाधरणलाई मर्का नपारि भिभिआईपी सवारीको ब्यबस्था मिलाउन सांसदहरुको माग



काठमाडौँ, २९ माघ । प्रतिनिधिसभाको आज बसेको बैठकको शून्य समयमा सांसदहरुले भिभिआईपीको सवारीलाई सरलीकृत गर्न सभामुखमार्फत ध्यानाकर्षण गराएका छन् ।

आज बसेको बैठकको शून्य समयमा सांसद रघुजी पन्तले शुक्रबार राष्ट्रपतिको सङ्घीय संसद्को संयुक्त बैठकलाई प्रतिनिधिसभाको निर्वाचनपछि पहिलो पटक सम्बोधन गर्न आउने र जाने क्रममा भएको सवारी अवरोधपछि चौतर्फी टिप्पणी भएको बताए ।

सांसद पन्तले राष्ट्रपतिको सवारीको पटक(पटक विरोध भइरहेको भन्दै सवारीलाई सरलीकृत गर्न सरकारको ध्यानाकर्षण गरेका हुन् । उनले भने, “म आफै पनि एक घण्टा सवारी जाममा परे । जनताले आक्रोश पोख्न थालेपछि म सांसद हो भन्ने परिचय दिनसमेत असहज महसुस भयो । यो समस्या एक पटकको होइन”, उनले भने, “यो काम सुरक्षा संयन्त्रको हो । सवारीसँग सम्बन्धित मापदण्ड लोकतन्त्र अनुकूल सर्वसाधरणलाई मर्का नपर्ने गरी सरलीकृत गरिनुपर्छ ।”

सांसद मुक्ताकुमारी यादवले राष्ट्रपति सवारीलाई व्यवस्थापन गर्नपर्नेमा जोड दिइन् ।सवारी व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीले स्वास्थ्यकर्मीमाथि हातपात गरेको भन्दै उनले आपत्ति जनाइन् । भिभिआइपीको सवारीले सर्वसाधरणलाई मर्कामा पार्न नहुने भन्दै सांसद रामहरि खतिवडाले भनाइ व्यक्त गरे ।

बैठकमा सांसद महेशकुमार बर्तौलाले किसानले आवश्यक मल र कृषि उपजले बजार नपाएकोप्रति सरकारको ध्यानाकर्षण गराए । उनले भने, “मकवानपुर क्षेत्र नं २ का किसानले आवश्यक मल पाउन सकेको छैनन् । अनुदानका मल बिचौलीका कारण महँगोमा किन्न बाध्य छन् । उनीहरुले उत्पादन गरेका कृषि उपजले न बजार पाएको छ न मूल्य ।” उनले औद्योगिक क्षेत्रको निर्माणलार्ई तीव्रता दिनसमेत माग गरे ।

सांसद ज्ञानबहादुर शाहीले शैक्षिक सत्र सुरु भएसँगै देशभरका विद्यालयमा पुस्तक पुग्नपर्ने माग राखे । उनले भने, “फागुन १ बाट शैक्षिक सत्र सुरु हुँदैछ । यसपटक पनि हिमाली क्षेत्रका विद्यार्थीले समयमै पुस्तक पाउनेमा द्विविधा देखिन्छ । मतपत्र छाप्न सक्ने सरकारले किताब छाप्न किन सक्दैन रु ”

प्रकाशित मिति : माघ २९, २०७९ आइतबार  ५ : २२ बजे