काठमाडौँ, ३ फागुन । नेपाली कांग्रेसका युबा नेता तथा सांसद प्रदीप पौडेलले अहिलेको गठबन्धन कांग्रेसले भत्काउनु नपर्ने बताएका छन् ।बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले गठबन्धन कांग्रेसले भत्काउनु नपर्ने भन्दै सत्ता गठबन्धन आँफै भत्कीने दाबि गरेका हुन् ।
उनले सुदूरपश्चिम प्रदेशमा कांग्रेसका कारण गठबन्धन भत्किएको कि जगै हल्लिएर गठबन्धन भत्किएको भन्दै प्रश्न गरे । ‘सुदूरपश्चिममा गठबन्धन भत्कियो, के कांग्रेसको कारण गठबन्धन भत्किएको हो,? उनले प्रश्न गरे, अहिलेको गठबन्धन जगदैदेखि हल्लिएर भत्किएको हो, राप्रपाका मन्त्रीलाई प्रधानमन्त्रीले संसदबाटै किन चेतावनी दिनुपर्यो, रास्वपाले किन मन्त्री फिर्ता बोलायोरु कांग्रेसले षड्यन्त्र गरेर हो ?’
पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘रबर स्ट्याम्प’ राष्ट्रपति बनाउन खोजेको भन्दै त्यस्तो हुन नदिइने बताए।‘यहाँ आफ्नै घरमा लालमोहर ल्याएर राखिदिने रबर स्ट्याम्प राष्ट्रपति चाहिएको छ। आवश्यकता पर्यो भने सचिव पनि लुकाइदिने राष्ट्रपति चाहिएको छ। त्यस्तो राष्ट्रपतिको प्रतिवादमा कांग्रेस उत्रिँदै गर्दा कांग्रेसले ढोक्सा थापेको भनेको मानिन्छ भने हामी त्यो ढोक्सा राम्रोसँग थाप्न तयार छौं,’ पौडेलले भने,“सर्वोच्च अदालत पार्टीको कानुन विभाग बनाउन खोजेजस्तो देखिएको छ । विघटनको भोक र सनक मेटाउन खोजेको पाइयो । यो विषमया हामी गम्भीर भएर संसद् उभिन जरुरी देखिन्छ ।”
उनले संवैधानिक मर्यादाको रक्षा गर्न, राष्ट्रपति देशको अभिभावक हो भन्ने स्थापित गर्न कांग्रेस प्रतिवद्ध रहेको बताए।बैठकमा पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीभन्दा पनि माथि सुपर प्रधानमन्त्री बन्न खोजेको भन्दै ओली प्रबृत्ति रोक्न नसके देश नसम्हालिने दाबि गरे ।










