काठमाडौं, फागुन १२ । राष्ट्रपति निर्वाचनका लागि आज अन्तिम मतदाता नामावली प्रकाशन हुदै छ। निर्वाचन आयोगले मतदाता नामावलीमा समावेश नाममा दावी विरोध, उजुरी र छानविन पछि आज अन्तिम नामावली प्रकाशन गर्न लागेको हो ।
दावी विरोध र उजुरीमा कुनै निवेदन नपरेको आयोगले जनाएको छ । कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर–२ बाट निर्वाचित सांसद अरुणकुमार चौधरीको नाम मतदाता नामावलीमा समावेश गर्न भने निवेदन परेको छ। अन्य चारवटा निवेदन भने नाम सच्याउने विषयमा रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
निर्वाचन कार्यतालिका अनुसार भोलि उम्मेदवारी दर्ता हुनेछ। राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ। अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ गरी सोही दिन ७ बजेभित्रमा नतिजा सार्वजनिक गर्ने आयोगको तयारी छ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई मतदानस्थल तोकिएको छ ।आयोगका अनुसार मतदानका लागि दुईवटा मतदान केन्द्र रहनेछन् । एउटा मतदान केन्द्रमा संघीय सांसद र अर्कोमा प्रदेशसभाका सदस्यले मतदान गर्नेछन् ।










