काठमाडौँ, १२ फागुन । सरकारले सार्वजनिक बिदाका दिन अत्यावश्यक सेवा प्रवाह हुने सरकारी कार्यालय खुला गर्ने निर्णय गरेको छ । यही फागुन ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले अत्यावश्यक ठानिएका कार्यालयलाई सेवा प्रवाहका लागि सार्वजनिक बिदामा खोल्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
कस्ता बिदामा कार्यालय खोल्ने भन्ने तोक्न बाँकी रहेको उनले बताइन् । बिदाका दिन कुन कार्यालय खोल्ने भन्ने विषयलाई मन्त्रिपरिषद्को प्रशासनिक समितिले टुङ्गो लगाउने छ । त्यस्ता बिदा र कार्यालयका नाम छिट्टै तोकिने उनले जानकारी दिइन् । अबदेखि त्यस्ता कार्यालय सार्वजनिक बिदा घोषणा भए पनि खुल्नेछन् ।
तेस्तै बैठकले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) ऐन, २०७९ सम्बन्धी विधेयक सङ्घीय संसद्समक्ष पेस गर्न स्वीकृति दिने निर्णय गरेको पनि शर्माले जानकारी दिइन्
सरकारले सङ्घीय संसद् सचिवालयमा दर्ता भई हाल राष्ट्रियसभामा विचाराधीन रहेको प्रतिलिपि अधिकार ९पहिलो संशोधन० विधेयक, २०७६ लाई फिर्ता लिन स्वीकृति दिने निर्णय गरेको छ।
बैठकले नेपालको संविधानको धारा ५३ एवं सुशासन ९व्यवस्थापन तथा सञ्चालन० ऐन, २०६४ को दफा ४१ बमोजिम तयार गरिएको नेपाल सरकारको आव २०७८/७९ को वार्षिक प्रतिवेदनलाई स्वीकृत गरी राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय गरेको छ।
सरकारले आगामी चैत १३ देखि १६ सम्म थाइल्यान्डको बैंककमा आयोजना हुने दीगो विकाससम्बन्धी १०औँ एशिया प्यासिफिक फोरम कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठलाई स्वीकृति दिएको छ।










