गठबन्धन ५ वर्षसम्मै टिकाउँछौ : गगन थापा



काठमाडौं, १६ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिले बनेको गठबन्धन बलियो बनाउँदै ५ वर्षसम्म टिकाउन सबै लाग्नुपर्ने बताएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन ।

उनले गठबन्धन बलियो बनाउँदै ५ वर्षसम्म टिकाउन सबै लाग्नुपर्ने बताए । उनले भने, ‘दुई महिनापछि हामी एक ठाउँमा उभिएका छौं। यो हुनैपर्थ्यो। जे भएको छ राम्रो भएको छ तर अब हाम्रो अगाडिका बाटो सहज छैन ।’

उनले नेपाली कांग्रेस ठूलो दल भएको कारण यसको दोष आफूहरुले लिने बताए । उनले पुष १० गते बनेको गठबन्धन अप्राकृतिक थियो भन्ने टिप्पणी गरे । उनले अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्री बन्नेमात्रै लालसा, लोभ र चाहना भएको भए पुष १० गते बनेको गठबन्धनबाट नै अझै बढि सहजता र लाभ थियो भन्ने सुनाए ।

उनले आफूहरुसँगको गठबन्धनमा आएको कारण माओवादीले धेरै कुरा नपाएको पनि स्पष्ट पारे । उनले प्रधानमन्त्री दाहाललाई अस्थिर भयो भनेर आरोप लगाउनु गलत हुने टिप्पणी गरे । माधव नेपाललाई पनि राष्ट्रपति र प्रधानमन्त्रीको अफर आएको भएपनि एमालेको गठबन्धनमा नगएको भन्दै उनले माधव नेपालको पनि भूमिकाको प्रशंसा गरे ।

प्रकाशित मिति : फाल्गुन १६, २०७९ मंगलबार  १२ : ४९ बजे