काठमाडौंका मेयर साहलाई सचेत गराउने मन्त्रिपरिषद्को निर्णय



काठमाडौं, २८ चैत ।सरकारले सिंहदरबार, बालुवाटार र शीतल निवासको फोहोर नउठाउने काठमाडौं महानगरपालिकाका प्रमुखको अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिएको छ । सरकारले साहलाई जिम्मेवार भएर काम गर्न समेत सचेत गराएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौं उपत्यकाको फोहोर उठाउने जिम्मा स्थानीय तहको भएकाले आफ्नो जिम्मेवारीबोध गरेर काम गर्न मेयर साहलाई सचेत गराउने निर्णय गरेको हो ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकाको फोहोर काठमाडौं महानगरपालिकाले उठाउने नीतिगत व्यवस्था विपरीत महानगर प्रमुखले अभिव्यक्ति दिएपछि यो विषयलाई गम्भीरतापूर्वक लिएको हो ।

बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले काठमाडौं उपत्यकाको फोहोर काठमाडौं महानगरपालिकाले उठाउने नीतिगत व्यवस्थाविपरीत महानगर प्रमुखबाट बालुवाटार, सिंहदरबार र शीतल निवासको फोहर नउठाउने अभिव्यक्ति सार्वजनिक भएकोमा गम्भीरतापूर्वक लिएको बताइन् ।

सरकारले आयाति र उत्पादित सम्पूर्ण खाद्य पदार्थमा जीव नाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्न मन्त्रिपरिषद्को पूर्वाधार समितिबाट प्राप्त प्रस्ताव स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : चैत्र २८, २०७९ मंगलबार  ७ : २९ बजे