गण्डकी, १५ वैशाख ।गण्डकी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदभार ग्रहण गरेका छन् । आज पद तथा गोपनीयताको शपथ लिएसँगै उनले मुख्यमन्त्री कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।
सो अवसरमा उनले आगामी आवका लागि प्रदेश सरकारको नीति तथा कार्यक्रम निर्माणका लागि प्रमुख सचिवको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णयमा हस्ताक्षर गरे ।
नवनियुक्त पाण्डेले उत्पादन र आर्थिक गतिविधिसँग जोडिने आयोजना सञ्चालनलाई प्रदेश सरकारले प्राथमिकतामा राख्ने बताए । “प्रदेशले अर्काको मुखमात्र ताकेर योजना बनाउनुपर्ने अवस्था हुनुहुँदैन, आम्दानीका स्रोत बढाउने, आर्थिक गतिविधिलाई प्रभावकारी बनाउनेमा सरकारको जोड रहन्छ”, उनले भने ।
पर्यटन, कृषि, जलविद्युत्लगायत क्षेत्रको विकासलाई प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गर्ने उनको भनाइ छ । मुख्यमन्त्री पाण्डेले एक साताभित्रैमा मन्त्रिपरिषद्ले पूर्णता पाउने बताए । उनले मन्त्रालयको सङ्ख्या पनि नथपिने प्रष्ट पारे ।