काठमाडौँ, २४ वैशाख । नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा पक्राउ परेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डे सहित ८ जनालाई थप ७ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ।
थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । भुटानी शरणार्थी नक्कली परिचयपत्र बनाएर ठगेको आरोपमा पक्राउ परेका निलम्बित सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, सन्दिप रायमाझी, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, टंक गुरुङ र सागर थुलुङ राईलाई थप ७ दिन थुनामा राख्न अनुमति दिएको हो।










