शून्य समयमा पूर्वाधार निर्माणदेखि किसानका समस्या समाधानको ध्यानाकर्षण



काठमाडौँ, ८ जेठ । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले गृहजिल्ला, निर्वाचन क्षेत्रलगायत स्थानका पूर्वाधार निर्माणदेखि किसानका समस्या समाधानबारेमा सरकारको ध्यानाकर्षण गराए ।

आजको बैठकमा सांसद डोलप्रसाद अर्यालले धादिङमा अस्पताल भवन निर्माणमा भएको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराउँदै शीघ्र काम अघि बढाउन आग्रह गरे । सांसद तारा लामा तामाङले कञ्चनपुरका केही स्थानमा किसानले सरकारलाई मालपोत कर तिरेको भए पनि उक्त जग्गा धितो राखी ऋण लिन नपाएका सन्दर्भमा सरकारको ध्यानाकर्षण गराए ।

सांसद तेजुलाल चौधरी तराई–मधेस आन्दोलनपछि सुझाव सङ्कलन गरी तयार गरेको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरे । सांसद तोसिमा कार्कीले नीति तथा कार्यक्रममा ललितपुरका कला संस्कृतिका बारेमा कुनै ठोस कार्यक्रम उल्लेख नभएकोमा गुनासो गरिन ।  

सांसद दामोदर पौडेल वैरागीले अन्तर्राष्ट्रिय संस्थाले गरेको सहयोग स्थानीय गैरसरकारी संस्थाले मनपरी खर्च गरेको भन्दै सरकारलाई प्रभावकारी अनुगमन गर्न आग्रह गरे । सांसद दीपक खड्काले किमथाङ्का र चतरा जोड्ने सडक यही वर्षभित्र निर्माण गर्ने गरी काम अघि बढाउन सरकारको ध्यानाकर्षण गराए ।

सांसद दामोदर भण्डारीले सुदूरपश्चिममा पशुचौपायामा देखिएको सङ्क्रमणको समयमै उपचार तथा रोकथामको माग गरे । सांसद दीपक गिरीले नेपाल कृषिप्रधान मुलुक भए पनि किसान मल नपाएर पीडित भएको उल्लेख गर्दै तत्काल मल बीउ आपूर्तिका लागि माग गरे । सांसद दीपकबहादुर सिंहले मकवानपुरमा इलाका प्रशासन कार्यालय स्थापना र रोपवे सञ्चालन गर्न माग गरे ।

सांसद देवप्रसाद तिमिल्सिनाले रौतहटको चन्द्रनिगाहापुरमा स्थानीयले बैंकमा जम्मा गरेको रकम गायब भएको सम्बन्धमा छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरे । सांसद देवेन्द्र पौडेलले बागलुङमा विभिन्न क्षेत्रमा सडक निर्माणका लागि सरकारको ध्यानाकर्षण गराए ।

सांसद नागिना यादवले युवा विद्यार्थी शिक्षा र रोजगारीका लागि विदेशिने गरेको बताउँदै विकासका लागि मुलुकभित्रै जनशक्ति तयार गर्ने नीति ल्याउन सरकारको ध्यानाकर्षण गराए । सांसद ठाकुरप्रसाद गैरेले पाल्पामा विद्युत्को समस्याका कारण खानेपानीको समस्या भएको बताउँदै नियमित आपूर्ति गरी लोडसेडिङ अन्त्यको माग गरे ।

सांसद दिलेन्द्रप्रसाद बडूले यही जेठ १ गते नेपाली सेनाका पाँच जनाले सगरमाथाको सफल गरेको आरोहण फर्कने बेलामा तीन जना घाइते भएका र त्यसमध्ये सहसेनानी दिपेन्द्र खत्रीले अवस्था गम्भीर रहेकाले र थप उपचारका लागि विदेश लैजाने व्यवस्था गर्न आग्रह गरे ।

प्रकाशित मिति : जेष्ठ ८, २०८० सोमबार  १२ : ४८ बजे