महोत्तरी, कात्तिक १६ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस प्रदेश सरकार गठनबारे दलहरुबीच सघन संवाद भइरहेको बताएका छन् ।
पार्टीको राष्ट्रिय जागरण अभियानअन्तर्गत मधेस प्रदेशस्तरीय अभिमुखीकरणका लागि बर्दिबास आउनुभएका संयोजक दाहालले आज सञ्चारकर्मीसँग कुराकानी गर्दै दलहरुबीच विभिन्न विकल्प खुला राख्दै छलफल भइरहेको स्पष्ट पारे ।
उनले भने, “हामी लोकतान्त्रिक गणतन्त्रका पक्षधर राजनीतिक दल मधेस सरकारको स्थायित्वका लागि सघन छलफलमा छौँ, अब चाँडै यसबारे निष्कर्षमा पुग्नेछौँ ।”
संयोजक दाहालले लोकतान्त्रिक गणतन्त्रका पक्षधरबीच सहकार्य, समन्वय र आपसी सम्बन्ध सुदृढ बनाउने उद्देश्यले आफ्नो दलले राष्ट्रिय जागरण अभियान सञ्चालन गरिहेको बताउनुभयो । “यो अभियान मुख्यतः हाम्रो दलको आन्तरिक साङ्गठनिक काम व्यवस्थित गर्ने सवालमा केन्द्रित छ,” उहाँले भन्नुभयो, “यसै अभियानको धरातलबाट हामी लोकतान्त्रिक गणतन्त्र पक्षधरबीचको सम्बन्ध प्रगाढ बनाउँदै अघि बढ्ने छौँ ।”
यसैबीच, सो दलले राष्ट्रिय जागरण अभियानअन्तर्गतको मधेस प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम बर्दिबासमा आज आयोजना गरेको छ ।










