मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रिय ललितकला प्रदर्शनी आजबाट



काठमाडौँ, १५ जेठ । काठमाडौँमा आजबाट सुरु हुन लागेको ललितकला क्षेत्रको उत्सव मानिने ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ को सबै तयारी पूरा भएको छ । यही जेठ ३० गतेसम्म १५ दिन सञ्चालन हुने प्रदर्शनीमा यसपटक सबैभन्दा बढी छ सय नौ जना कलाकारका छ सय ९५ वटा चित्र (सिर्जना) समावेश गराइने भएको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रदर्शनीको उद्घाटन समारोहका बाहेक सबै तयारी पूरा भएको जानकारी दिए । उहाँका अनुसार आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले प्रदर्शनीको उद्घाटन गर्नेछन् ।

यसपटकको प्रदर्शनी जेठ १५ गतेबाट ३० गतेसम्म प्रतिष्ठानको कार्यालय नक्साल र नेपाल कला परिषद् बबरमहलमा हुनेछ । गत वर्षको प्रदर्शनीमा भने तीन सय ६५ कलाकारका चार सय २६ कलाकृति दर्ता भएकामा तीन सय ४१ कलाकारका तीन सय ८९ कलाकृतिमात्रै प्रदर्शनीका लागि छनोट भएका थिए । यसपालि भने झण्डै दोब्बर कलाकृति समावेश गरिने भएको छ ।

प्रतिष्ठानले नियमित पुरस्कार तथा सम्मानसहित यस वर्षबाट कला प्रवर्द्धन सम्मान तथा प्रदर्शनीको सद्भावनादूतका रूपमा अनिल चित्रकारलाई सम्मान गर्न लागेको छ । विगतमा वैशाख २ गते गर्ने गरिएको यस प्रदर्शनी यस वर्ष गणतन्त्र दिवसको सन्दर्भ पारेर जेठ १५ गते गर्न लागिएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार  १० : १९ बजे