मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपचार गर्न चितवन



चितवन, १६ जेठ । कुनै बेला घनाजङ्गल, न्यून मानव बस्तीबीच औलोको महामारी हुने चितवन पछिल्लो समय ‘हेल्थ सिटी’ का रुपमा विकास भएको छ ।

पहाडी क्षेत्रबाट बाध्यताले झर्ने चितवन अहिले उपचारका लागि आउने थलो रुपमा विकास हुँदै गएको छ । विसं २०१४ मा डिस्पेन्सरीका रुपमा हालको भरतपुर अस्पताल भएको ठाउँमा स्वास्थ्य संस्था स्थापना भएर सुरु भएपछि पछिल्लो १५ वर्षमा आमूल परिवर्तन भएको छ । 

यहाँ क्यान्सर, आँखा, अङ्ग प्रत्यारोपण सहितका अति विशिष्टीकृत सेवासहित ६ हजार हाराहारी क्षमता शय्याका अस्पताल सञ्चालनमा छन् । छ सय शय्याको सरकारी भरतपुर अस्पताल, दुई ठूला मेडिकल कलेज, क्यान्सर अस्पताल, आँखा अस्पताल र २३ वटा निजी अस्पतालले सेवा दिइरहेका छन् । 

देशैभर र भारतीय सीमा क्षेत्रबाट समेत यहाँ उपचारका लागि बिरामी आउने गर्दछन् । पछिल्लो समय थपिएका सेवा सुविधाका कारण नेपालमा हुने सबै खालका उपचार यहाँ हुने गरेका छन् । छिमेकी मुलुक भारतका दिल्ली, मुम्बई जस्ता सहरमा जाने बिरामीसमेत पछिल्ला वर्षहरुमा यही उपचार गर्न थालेको चिकित्सकहरु बताउँछन् ।

निजी र सरकारी अस्पतालहरुमा बिरामीको चाप बढ्दो छ । जिल्लाको भरतपुर क्षेत्रमा अधिकांश स्वास्थ्य संस्था छन् । यहाँ रहेको सरकारी भरतपुर अस्पतालमा सधैँ बिरामी भरिभराउ हुन्छन् भने वरिपरि रहेका दुई मेडिकल कलेज र निजी अस्पतालहरुमा पनि बिरामीको चाप उत्तिकै छ ।

विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा छिमेकी देश भारत र बङ्गालादेशबाट समेत बिरामी आउने गरेका छन् । त्यहाँको चापलाई निजी स्तरमा रहेको चितवन मेडिकल कलेजको सिएमसी क्यान्सर इन्स्टिच्युटले कम गर्ने गरेको छ ।

आँखा उपचारमा पनि भरतपुर आँखा अस्पताल नेपालकै अब्बल बनेको छ । देशका विभिन्न क्षेत्रसँगै भारतीय भूभागबाट समेत यहाँ आँखा उपचारका लागि बिरामी आउने गरेका छन् । बढ्दो बिरामीको चापसँगै निजी क्षेत्रले समेत अत्याधुनिक उपकरणहरु भित्र्याएका छन् । कतिपय उपकरण विश्वका धनी मुलुकमा प्रयोग हुनेभन्दा कम छैनन् । विशिष्टीकृत अध्ययन हासिल गरेका धेरै चिकित्सक अहिले जिल्लामा कार्यरत छन् ।

चितवन मेडिकल कलेजका अध्यक्ष एवम् प्रबन्ध निर्देशक प्राडा हरिश्चन्द्र न्यौपाने विगतको तुलनामा पछिल्ला वर्षहरुमा स्वास्थ्य क्षेत्रमा ठूलो फड्को मारेको बताउछन् । आम नागरिक शिक्षितसँगै संसारका बारेमा बुझ्न थालेपछि स्वास्थ्य क्षेत्रमा पनि उनीहरुको चासो बढ्दै गएको भन्दै उनले आवश्यकताले पनि स्वास्थ्य क्षेत्रमा थप सुधार ल्याउन प्रेरित गरेको बताए । बिरामीहरु बुझ्ने भएसँगै उपचार गर्ने चिकित्सक स्वास्थ्यकर्मीहरुले अध्ययन गर्न थालेको र उपचार राम्रो बन्दै गएको उनले बताए ।

पछिल्ला वर्षहरुमा सिटिस्क्यान, एमआरआई जस्ता उपकरणहरु भित्रिएसँगै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको उपचार यहाँ हुन थालेको उनको भनाइ छ । उनले भने, “नेपालमा हुने सबै खालका उपचार चितवनमा सम्भव छ ।”

नेपाल नेत्रज्योति सङ्घ चितवनका पूर्वसभापति चिजकुमार मास्के गएको १५ वर्षमा आँखा उपचारका क्षेत्रमा ठूलो फड्को मारेको बताउनुहुन्छ । चितवन र छिमेकी जिल्लासँगै भारतका समेत बिरामी आँखा उपचारका लागि भरतपुर आँखा अस्पताल आउने गरेको उनको भनाइ छ । नेपालमा हुने सबै खालका आँखा उपचार गर्न सक्ने गरी आवश्यक जनशक्ति र उपकरण यही समयमा यहाँ भित्रिएको मास्केको भनाइ छ । उनले भने, “देशभित्र हुने सबै खालका उपचार गर्न हामी सक्षम छौँ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलबार  ३ : ३० बजे