मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

व्यक्ति बदलिएमात्र कांग्रेस बदलिन्छ : महामन्त्री थापा



नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले व्यक्ति बदलिएमात्रै कांग्रेस बदलिने बताएका छन् ।

काठमाडौँ, १९ जेठ । नेपाल प्रेस युनियन उपत्यका प्रतिष्ठान प्रदेशको प्रथम अधिवेशनको आज उद्घाटन गर्दै उनले कांग्रेस बदलिनका लागि कांग्रेसभित्रका व्यक्ति बदलिनुपर्ने आवश्यकता रहेको बताए ।

“कुशासन, बेतिथी र भ्रष्टाचार अन्त्य गरी भविश्य दिने पार्टीका रुपमा कांग्रेसलाई स्थापित गर्न सकेमात्र कांग्रेसप्रति जनतामा आकर्षण पैदा हुन्छ”, उनले भने । पार्टीभित्र विश्वास फर्काउन कांग्रेस बदलिनुपर्नेमा उनले जोड दिए । 

महामन्त्री थापाले सङ्घ, प्रदेश र स्थानीय तहमा सबैभन्दा धेरै सिट जितेको कांग्रेसले जनतामा आशालाग्दो काम गरे आगामी निर्वाचनमा अझ धेरै सिट जित्ने दाबीसमेत गरे ।

“कांग्रेसभित्रको गुठ भत्काउनुपर्छ, सदस्यता प्रणाली बदल्नुपर्छ, उम्मेदवार संसदीय समितिले होइन जनताले छान्ने व्यवस्था गर्नुपर्छ”, महामन्त्री थापाले भने । महामन्त्री थापाले टिकटका लागि पार्टी नेतृत्वतिर फर्कने अवस्थाको अन्त्य गरी जनतातिर जाने परिस्थिति पार्टीभित्र सिर्जना गर्नुपर्ने बताउनुभयो । कांग्रेस बदलिए देशको परिस्थिति बदलिने उनको भनाइ थियो ।

उनले श्रमजीवी पत्रकारको पक्षमा नेपाल प्रेस युनियन लाग्नुपर्ने बताए । कांग्रेसले विधिको शासन, लोकतन्त्र र प्रेस स्वतन्त्रताको बेवास्था गरेमा खबरदारी गर्ने काम प्रेस युनियनको भएको उनको भनाइ थियो ।

कांग्रेस केन्द्रीय सदस्य मदन अमात्यले कांग्रेसविना जनताको अधिकार सुनिश्चित नहुने भएकाले कांग्रेसलाई बलियो बनाउन सबै लाग्नुपर्ने बताए । कांग्रेस ललितपुरका सभापति जीतेन्द्र श्रेष्ठले कांग्रेसभित्र शुद्धीकरण अभियान चलाउनुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले पत्रकारको पेसागत सुरक्षाका लागि नेपाल पत्रकार महासङ्घ नेपाल प्रेस युनियनसँग सहकार्य गरेर अगाडि बढ्न चाहेको स्पष्ट पारे ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  ३ : ३५ बजे