काठमाडौं । भारतको पूर्वी राज्य ओडिशामा रेलहरू एकआपसमा ठोकिँदा कम्तीमा २३८ जनाको मृत्यु भएको र ९०० जनाभन्दा बढी मानिस घाइते भएको अधिकारीहरूले बताएका छन्।
उक्त राज्यको बालासोर जिल्लामा दुर्घटना भएको हो। ओडिशाका मुख्यसचिव प्रदीप जेनाले घटनास्थलमा २०० वटाभन्दा बढी एम्बुलेन्स पठाइएको जनाएका छन्।
एउटा यात्रुवाहक रेल शुक्रवार अबेर पटरीबाट बाहिर खसेको र त्यो अरू रेलहरूमा ठोकिन पुगेको ठानिएको छ।
यो भारतमा भएको यस शताब्दीकै सबैभन्दा खराब रेल दुर्घटना हो।मृतकको सङ्ख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।
भारतीय रेलवेका अनुसार कोरोमण्डल एक्सप्रेस र हावडा सुपरफास्ट एक्सप्रेस आपसमा जुध्न पुगेका थिए।हालसम्म २३३ जनाको शव फेला परेको छ। उनले १०० भन्दा बढी चिकित्सकहरू घटनास्थलमा परिचालन गरिएको बताए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाबाट आफू अत्यन्त दुःखी भएको बताएका छन्।उनले मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन्।
उनले ट्विटरमा लेखेका छन्, दुर्घटना स्थलमा उद्धारकार्य जारी छ र प्रभावितहरूलाई सम्भव भएसम्म सहयोग गरिँदै छ।गृहमन्त्री अमित शाहले घटना अत्यन्त पीडादायी भनेका छन्।
दुर्घटनापछि ओडिशा राज्यमा एक दिनको शोकको घोषणा गरिएको छ।घटनापछि केही जीवित यात्रुहरू दुर्घटनास्थलमा फसेका मानिसलाई उद्धार गर्न दौडिएको देखिएको थियो।स्थानीय बस कम्पनीहरूले पनि यात्रुलाई ओसारपसार गर्न मद्दत गरिरहेका छन्।बिबिसिबाट














