काठमाडौँ। साउदी अरेबियाको सरकारी तेल कम्पनी साउदी अरामकोको ‘सायबाह’ तेल क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको ज्यान गएको छ। परराष्ट्र मन्त्रालयले बिहीबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत घटनाको पुष्टि गर्दै मृतक नेपाली नागरिकप्रति गहिरो दुःख व्यक्त गरेको छ।
बिहीबार परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जालमार्फत सार्वजनिक पूर्वाधारमा गराइएको विस्फोटबारे कडा निन्दा गरेको छ । ुुसार्वजनिक पूर्वाधार लक्षित सबै आक्रमणलाई नेपाल कडा भर्त्सना गर्दछुु परराष्ट्र मन्त्रालयले भनेको छ ।
साउदीमा जारी तनाव वार्ता र संवादमार्फत अन्त्य हुनुपर्ने पक्षमा नेपाल रहेको परराष्ट्रले भनेको छ । मन्त्रालयले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।
मन्त्रालयका अनुसार बुधबार सायबाह तेल क्षेत्रलाई लक्षित गरी प्रहार गरिएको ड्रोनलाई साउदी सुरक्षा प्रणालीले आकाशमै नष्ट गर्दा त्यसको भग्नावशेष खसेर ती नेपाली कामदारको ज्यान गएको हो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार उक्त घटनामा एक नेपाली र एक फिलिपिनो नागरिकको मृत्यु भएको छ भने एक भारतीय र एक पाकिस्तानी नागरिक घाइते भएका छन्। मृतक नेपालीको विस्तृत परिचय भने अझै खुलाइएको छैन।
परराष्ट्र मन्त्रालयले मृतकका शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, सर्वसाधारण र महत्त्वपूर्ण पूर्वाधारहरूलाई लक्षित गरी गरिने जुनसुकै आक्रमणको भर्त्सना गर्दै नेपालले जुनसुकै विवादको समाधान संवाद र कूटनीतिक माध्यमबाटै खोज्न सम्बद्ध पक्षहरूलाई आह्वान गरेको छ।










