२१ जेठ काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आरोपी माथिको थुनछेक बहस आजबाट सुरु हुँदैछ।आजदेखि थुनछेक बहस हुने अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिएका छन् । थुनछेक बहसपछि उनीहरूलाई थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने आदेश हुनेछ ।
थुनछेक बहसमा सरकारी वकिलको तर्फबाट आठजनाले बहस गर्नेछन् भने प्रत्येक अभियुक्तका आफ्ना कानुन व्यवसायी समेतले बहस गर्ने छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्कालीन गृह मन्त्री रामबहादुर थापकाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, केशव दुलाल र सानु भण्डारीलगायत १८ जनासँग काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेलगायतले बयान लिएका थिए । जुन बयान शुक्रबार सकिएपछि आजवाट थुनछेक बहस सुरु हुन लागेको हो।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले पक्राउ परेका १८ सहितलाई फरार रहेका ३० जनालाई संगठित अपराध, किर्ते, ठगी तथा राज्य बिरुद्धको आरोप गरी चारवटा मुद्धा लगाउँदै २७ करोड ५० लाख बिगो माग दाबीसहित काठमाडौं जिल्ला अदालतमा जेठ १० गते मुद्दा दायर गरेको थियो।










