२८ जेठ,सुदूरपश्चिम। सुदूरपश्चिममा आइतबार आमहड्ताल गरिएको छ। कैलालीस्थित गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै आज सुदूरपश्चिममा आमहड्ताल गरिएको हो।
आम हडतालले जनजीवन प्रभावित भएको छ। नौ जिल्लाको जनजीवन प्रभाबित हुन पुगेको छ। हड्तालका कारण सो प्रदेशका ९ वटै जिल्लामा लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेको छैन।प्रहरीको अनुसार महेन्द्र राजमार्गमा ठुला सवारी साधान चलेका छैनन भने अन्य सहायक मार्ग पनि दुई पाङग्रे सवारी साधान मात्रै छिटफुट रुपमा चलेका छन्।प्रदेशका शैक्षिक, वित्तीयलगायतका संघरसंस्था तथा कलकारखाना, व्यापार र यातायात पूर्ण रूपमा बन्द छन्।
विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिले यसअघि सार्वजनिक गरेको बिरोध कार्यक्रमको तालिका अनुसार आज सुदूरपश्चिम प्रदेशमा आम हड्तालको आयोजना गरेको हो।
गत २९ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो, सो अघि सुदुरपश्चिम भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डले गेटालाई बिश्वबिद्यालय बनाउने घोषणा पनि गरेका थिए।, गत जेठ १५ मा सरकारले ल्याएको बजेटमा विश्वविद्यालयको ठाउँमा प्रतिष्ठानका रुपमा अघि बढाउने र एक सय शैय्याको अस्पताल सञ्चालन गर्ने घोषणा गरे पछि सुदुरपश्चेमेली नागरिकमा असन्तुष्टि बढेको हो।














