वालिङ, ३ असार । कृषि तथा पशुपन्छीमन्त्री बेदुराम भुसालले कृषि नै समृद्धिको आधार भएको बताउनुभएको छ । स्याङ्जाको भिरकोट–५ पकानस्थित केराबारी कृषक समूहको समन्वयमा आज आयोजित सुन्तला रोपण अभियान कार्यक्रममा उनले कृषि, पशु तथा मत्स्यपालनका क्षेत्रबाट मात्रै समृद्धि हासिल गर्न सकिने बताए।
कृषि तथा पशुपालनका क्षेत्रमा सामूहिक वा चक्लाबन्दी खेतीमा जानुपर्ने नीति सरकारले अगाडि सारेको मन्त्री भुसालको भनाइ छ । “अब चक्लाबन्दी वा सामूहिक खेती प्रणालीमा जोड दिनुपर्छ भन्ने सरकारले नीति अगाडि ल्याएको छ”, उनले भने, “बाँझो जमिनको उपयोग गर्ने वा व्यक्तिका बाँझो रहेका जमिन भाडामा लिएर भए पनि खेती गर्ने नीति सरकारले लिएको छ ।”
बाँझो जमिनको उपयोगका लागि सरकारले नीति तथा कार्यक्रम नै बनाएको उनले बताए । मन्त्री भुसालले नीति तथा कार्यक्रमको कार्यान्वयनका लागि बजेट विनियोजन भइसकेको बताए । अहिले कृषकका लागि बाँदर आतङ्क चुनौतीका रुपमा रहेकाले यसको व्यवस्थापन गर्न सरकार ऐन संशोधन गरेर अगाडि बढ्ने उनले बताए ।










