आज समाजवादी मोर्चाको घोषणा



काठमाडौं, ४ असार । आज समाजवादी मोर्चा घोषणा हुने भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा लगायतका राजनीतिक दलले समाजवादी मोर्चा निर्माणमा सहमति जुटाएका थिए ।

सोमबार राष्ट्रियसभा गृहमा एक कार्यक्रम गरी समाजवादी मोर्चा घोषणा हुनेछ । मोर्चाको न्यूनतम कार्यक्रमसमेत तय गरेको र सोमबार नै सार्वजनिक गरिने बताइएको छ ।बैठकमा सहभागी जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठका अनुसार समाजवादी मोर्चा र त्यसको न्यूनतम कार्यक्रमका बारेमा आवश्यक सहमति भएको छ ।

समाजवादी मोर्चा बनाउने प्रयास धेरै पहिलेदेखि भए पनि औपचारिकता भने पाउन सकेको थिएन । माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महारले लगातार विभिन्न राजनीतिक दलसँग यसबारेमा संवाद गर्दै आएका थिए ।

मोर्चामा डा बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टी नेपालसमेत सहभागी हुने बताइएको छ ।

प्रकाशित मिति : असार ४, २०८० सोमबार  ८ : ०८ बजे