काठमाडौं, असार ४ गते । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र समाजवादको नेपाली बाटो तय गर्ने उद्देश्यका साथ समाजवादी मोर्चा नेपालको घोषणा प्रक्रिया सुरु भएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा आयोजित घोषणा कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड, नेकपा एकीकृति समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानीत नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायत उपस्थित रहेका छन्।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा नेपाल, नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी, नेपाल कम्युनिष्ट पार्टी नेकपा लगायतका दल मोर्चामा आबद्ध हुने छन् । नेपाली विशेषताको समाजवाद स्थापना गर्नु मोर्चाको साझा सैद्धान्तिक उद्देश्य रहेको जनाइएको छ ।
आज घोषणा हुने समाजवादी मोर्चाले विभिन्न आन्दोलनका क्तममा लगाइएका मुद्दा खारेजीका लागि पहल गर्ने छ । वित्तीय एकाधिकार तथा दलाल पुँजीवादको शोषण र हस्तक्षेपबाट मुक्त तथा सार्वजनिक, सहकारी एवम् निजी क्षेत्रको समन्वयात्मक, सहकार्यात्मक र क्रियाशील भूमिकाका आधारमा समाजवादी अर्थ–राजनीतिक व्यवस्था अवलम्बन गर्ने प्रतिबद्धतामा उल्लेख छ ।










