काठमाडौं, २६ असार । कर्णाली प्रदेशलाई आगामी भदौमा पूर्ण खोपयुक्त प्रदेश घोषणा गरिने भएको छ । कर्णाली प्रदेशका १० जिल्लालाई पूर्ण खोपयुक्त घोषणा भएपछि अब प्रदेश घोषणाको तयारी थालिएको हो ।
कर्णालीका सबै जिल्लामा १६ देखि ५९ महिना उमेर समूहका बालबालिकामा तथ्याङ्क सर्वेक्षण गर्दा बच्चा जन्मिएको दिनदेखि १५ महिनाभित्र लगाउनुपर्ने १३ प्रकारका एन्टिजेन्ट खोपहरू लगाएर सकिएको छ ।
कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका सूचना अधिकारी पदम केसीले कर्णालीका १० वटै जिल्लामा खोप सुनिश्चित भएपछि अब खोपयुक्त प्रदेश घोषणाको तयारी थालिएको बताए । कर्णालीका १० जिल्लामा दैलेखलाई ४ वैशाख २०७४ मै पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको थियो भने ३० वैशाख २०७५ मा सुर्खेत पूर्ण खोपयुक्त बनेको थियो । कालिकोट, जुम्ला, मुगु, रुकुमपश्चिम, जाजरकोट र सल्यान लगायतका आठ जिल्ला अघिल्लो वर्ष खोपयुक्त जिल्ला घोषणा भएका थिए ।
यस्तै, बाँकी रहेका दुई जिल्ला डोल्पा र हुम्ला चालु आर्थिक वर्षको वैशाख र असारमा पूर्ण खोपयुक्त जिल्ला घोषणा भएसँगै प्रदेशलाई नै खोपयुक्त प्रदेश बनाउनका लागि निर्देशनालयले आवश्यक प्रक्रिया अगाडि बढाएको हो । आगामी भदौ तेस्रो सातासम्ममा खोपयुक्त प्रदेश घोषणा गर्नेगरी तयारी भइरहेको सूचना अधिकारी केसीले जानकारी दिए । नेपाल सरकारको उच्च प्राथमिकतामा प्राप्त कार्यक्रममार्फत कर्णालीमा एक हजार चार सय खोप केन्द्रहरूबाट खोप सेवा दिइँदै आएको छ ।














