संसदीय समितिलाई पूर्णता दिन प्रतिपक्षको माग : अर्को बैठकमा सहभागि नहुने एमालेको चेतानवी



काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा संसदीय समितिले पूर्णता पाउनु पर्ने आवाज उठेको छ । समितिको आईतबारको बैठकमा, एमाले र राप्रपाका नेताहरुले समितिले पूर्णता नपाएको विषयमा ध्यानाकर्षण गराएका हुन् ।

एमाले सचिव भट्टराईले संसदीय समितिले पूर्णता नपाएसम्म एमाले समितिका आगामी बैठकमा सहभागी नहुने चेतावनी दिए । सत्तारुढ गठबन्धनका कारण सिर्जना भएको समस्याको भारी प्रतिपक्षले नबोक्ने भन्दै उनले भने ‘संसदीय प्रक्रियाअनुसार समितिले पूर्णता नपाए सम्भवत हामी समितिका यसपछिका कुनै पनि बैठकमा उपस्थित हुँदैनौँ । सभापतिलाई यसबारे अग्रिम जानकारी गराउन चाहन्छौँ ।’
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संसदीय समितिहरुले चाँडो पूर्णता पाउनुपर्ने बताए ।

‘संसद र सांसद दुबैको गरिमा घटाउने काम भएको छ । ’ उनले भने ‘यसले एउटा नराम्रो नजीर पछि सम्मलाई बस्छ । ’ज्येष्ठ सदस्यका रुपमा समितिको सभापतित्व गरिरहनुभएका अर्जुननरसिंह केसीले आफूपनि चाँडै समितिले पूर्णता पाओस् भन्ने पक्षमा रहेको प्रतिपक्षले लेखा समितिको सभापतित्व गरोस् भन्नेमा रहेको बताए । उनले भने, ‘ समितिको सभापतिको प्रमुख प्रतिपक्षको नेतृत्व होस् भन्ने मान्यता छ । यस विषयमा समितिको गम्भीर ध्यानाकर्षण भएको छ । ’

समितिको आजको बैठकले सार्वजनिक लेखा समिति सञ्चालन कार्यविधि, २०८० पारित गरेको छ । कार्यविधि मस्यौदा तयार पार्नका लागि समिति सदस्य राजन केसी संयोजकत्वमा एक उपसमितिले बनाइएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ७ : ३९ बजे