कोसी प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आज अन्तिम दिन



काठमाडौं, १६ साउन । कोसी प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न प्रदेश प्रमुख परशुराम खापुङले दिएको समयसीमा मंगलबार सकिँदै छ ।

यही साउन ११ गते सर्वोच्चले भोलि (साउन १७) भित्र बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो । त्यसपछि गएको शुक्रबार खापुङले आजसम्मको समयसीमा दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।सर्वोच्च अदालतले मुख्यमन्त्री पदमा उद्धव थापाको नियुक्ति बदर गरेर नयाँ सरकार गठन गर्न परमादेश दिएसँगै खापुङले नयाँ सरकार गठनको आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख खापुङले आज (साउन १६) बेलुका ५ बजेभित्र संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  १० : ५१ बजे