राष्ट्रिय सभाका दुई समिति बस्दै, संघीय संसद्को बैठक भोलि मात्र



काठमाडौं । राष्ट्रिय सभा अन्र्तगका दुई समितिका बैठकहरू बिहीबार (आज)का लागि बोलाइएको छ । दिगो विकास तथा सुशासन र राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक संसद सचिवालय सिंहदरबारमा बोलाइएको हो ।

दिगो विकास तथा सुशासन समिति बैठकको दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा संकल्प प्रस्ताव कार्ययोजना अनुगमन उपसमितिबाट पेश भएको कार्यान्वयन कार्ययोजना, समितिको आर्थिक वर्ष २०८०/८१ को कार्ययोजनाका विषयमा छलफल हुनेछ ।

त्यस्तै, नीति अनुसन्धान प्रतिष्ठानबाट गरिएको दिगो विकास तथा सुशासन समितिको निर्देशन कार्यान्वयन अवस्थाको अध्ययन प्रतिवेदनका विषयमा पनि बैठकमा छलफल हुनेछ । राष्ट्रिय सभाकै राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक भने बिहान ११ बजेका लागि बोलाइएको छ । तर, त्यस बैठकको अजेन्डाका विषयमा संसद सचिवालयले केही खुलाएको छैन ।

प्रमुख प्रतिपक्षी एमालेले संघीय संसदका दुबै सदन अवरोध जारी राखेका कारण आज प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक राखिएको छैन । बुधबारको बैठकमा पनि एमालेले त्रिभुवन विमानस्थलबाट भएको सुन तस्करीको छानविन गर्न उच्चस्तरीय छानविन समितिको माग गर्दै संसद अवरुद्ध गरेको थियो । उसले दुबै सदनमा अवरोध जारी राखेपछि बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको हो । प्रतिनिधिसभा बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ भने राष्ट्रिय सभा ११ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति : श्रावण २५, २०८० बिहीबार  ८ : ३४ बजे