स्थापितले दिएको राजीनामा पार्टीले स्वीकृत, यादवलाई पनि पार्टीबाट निष्कासन



काठमाडौं , ३० साउन। नेकपा (एमाले)को केन्द्रीय सदस्य पदबाट केशव स्थापितले दिएको राजीनामा पार्टीले स्वीकृत गरेको छ । सोमबार बसेको एमाले सचिवालय बैठकबाट उनको राजीनामा स्वीकृत गरिएको एक नेताले जानकारी दिए ।“उनि (केशव स्थापित)ले मैले पार्टीको काम गर्न भ्याइनँ भनेर राजीनामा दिएकारहेछ,” एक नेताले भने ।उनले केही समयअघि राजीनामा दिएका थिए । गएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उनी पराजित भएका थिए ।

एमालेले अर्का केन्द्रीय सदस्य प्रमोदनारायण यादवलाई पनि पार्टीबाट निष्कासन गरेको छ । सोही सचिवालय बैठकबाट उनलाई बिदा गरिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । सिरहाका यादव पार्टीमा निष्क्रिय रहेकाले निकालिएको बताइएको छ ।स्थापित र यादवको रिक्त स्थानमा केदार न्यौपाने र छक्कबहादुर लामालाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको गौतमले जानकारी दिए ।यस्तै, बिदामा रहेका स्थायी कमिटी सदस्य मणि थापासित सोधपुछ गर्ने निर्णय पनि सो बैठकबाट गरिएको छ ।

प्रकाशित मिति : श्रावण ३०, २०८० मंगलबार  १ : १४ बजे