साउदी सीमा सुरक्षा गार्डहरूद्वारा सयौं आप्रवासीको हत्या



काठमाडौं । साउदी सीमा सुरक्षा गार्डहरूले युद्धग्रस्त यमन पार गरेर साउदी अरेबिया पुग्ने सयौं इथियोपियन आप्रवासीको गोली हानी हत्या गरेका छन् । आप्रवासीहरूले बिबिसीलाई बताएअनुसार उनीहरूको गोलीबाट धेरैको हात काटिएका छन् र कयौंको शवहरू यत्रतत्र छाडिएका छन् ।

यद्यपी साउदी अरेबियाले भने यसअघि नै योजनाबद्ध हत्याका आरोपहरू अस्वीकार गर्दै आएको छ ।

ह्युमन राइट वाच (एचआरडब्लु)को प्रतिवेदनका अनुसार साउदी सुरक्षा गार्डहरूले आप्रवासीमाथि गोली वर्षाएका थिए । साउदी प्रहरी एवं सैनिकहरूले उत्तरी सीमामा आप्रवासीहरूलाई विस्फोटक हतियारको निसान बनाएको र गोली हानेको एचआरडब्लुको तिवेदनमा उल्लेख गरिएको छ ।

बिबिसीले छुट्टाछुट्टै गरेको सम्पर्कमा आप्रवासीहरूले रातको समयमा ठूलो संख्यामा कामको खोजीमा सीमा पार गरिरहेका बालबालिका र महिलाहरूसहितको इथियोपियन समूह आगोमा परेको बताएका थिए ।

२१ वर्षीय मुस्तफा सोफिया मोहम्मदले बिबिसीलाई भने, “गोलाबारी जारी रह्यो ।” उनका अनुसार गत वर्षको जुलाईमा सीमा पार गर्न खोज्दा गोलाबारीमा परी ४५ जना आप्रवासीहरूको समूहका केही मारिएका थिए । “मलाई गोली लागेको थाहा भएन,’ उनले भने, ‘जब उठेर हिँड्न खोजेँ, मेरो खुट्टाको एक भाग थिएन ।”

उनका अनुसार यमनी र इथियोपियाली तस्करहरूको खतरा, भोकमरी र हिंसायुक्त तीन महिनाको यात्रा क्रूर थियो, अराजक अन्त्य रह्यो ।

प्रकाशित मिति : भाद्र ६, २०८० बुधबार  ३ : ३९ बजे