प्रचण्ड र माधवले जनतालाई जुधाउने गरेको एमाले अध्यक्ष ओलीको आरोप



काठमाडौं, ७ भदौ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्त्री पुष्प कमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री माधव नेपालले जनता जुधाएर ताली बजाउँन खोजेको आरोप लगाएका छन् ।


नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनको सम्मेलनमा उनले, प्रचण्ड र माधवले जनजातीको नाममा हिंसा भड्काउँन भूमिका खेलेको टिप्पणी गरे ।उनले भने, ‘अबको नेपाल शान्तिपूर्ण बनाउँने हो । अहिले पूर्वाञ्चलमा विरोध गर्ने माओवादी र माधव नेपालका कार्यकर्ताहरु छन् । उफ्रिने किरात राई उफार्ने पुष्पकमल दहाल, माधव कुमार नेपाल नै हुन् । प्रचण्ड र माधव नेपालहरुले नेपाली जनताहरुलाई गोरु जुधाए जसरी जुधाएर ताली बजाउँन खोजी रहेका छन् । त्यो काम गर्न हुदैँन् नेपाली जनता लड्नु हुदैँन् । सत्तामा बस्नेहरुले यसलाई सानो विषय मानेका छन् त यसमा सचेत हुनु आवश्यक छ ।’


उनले मानव समाज स्वच्छ रुपमा निमार्ण गर्न चहान्छौ तर राजनीतिक अस्थिरता, वेइमानी, आफ्नो स्वार्थको लागि सांस्कृतिक विद्रोह भड्काउँने कामले देश विकासमा बाधा आएको बताए ।यस्तै, नेपालमा साम्प्रदायक विद्रोह भड्काउँन खासगरी माओवादीले आफ्नो जनयुद्धलाई अगाडि बढाउँनका लागि हरेक जात, धर्म, क्षेत्र, पेशालाई उचालेर पहिचानको लडाईको नाममा जातीलाई भिडाएको पनि उनको आरोप छ ।नेपालमा राम्रो संस्कार, सुशासनको अवस्था हुने हो भने १० वर्षमा गरिबी निवारणको अवस्थामा पुग्न सकिने भएपनि हाल देशमा भ्रष्टाचार, तस्करी र कुसाशनले समाजलाई विकृत बनाइ रहेको उनको टिप्पणी छ ।

प्रकाशित मिति : भाद्र ७, २०८० बिहीबार  ३ : १६ बजे