काठमाडौं , १२ भदौ । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले सवल आत्मनिर्भर अर्थतन्त्र निमार्णको लागि कृषि क्षेत्रमा गुणात्मक र रुपान्तरणकारी परिवर्तन सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।
आज प्रतिनिधि सभाको बैठकमा उनले सांसद उर्मिला माझिले कृषि क्षेत्रमा लगानी अत्याधिक हुने तर प्रतिफल न्यून हुदाँ कृषिप्रति आकर्षण घट्दै गएको विषयलाई लिएर प्रधानमन्त्रीलाई सोधेको प्रश्नमा उनले सो जवाफ दिएका हुन् ।उनले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउँन कृषि क्षेत्रमा आधुनिकीकरण, यान्त्रिकीकरण र व्यवसायीकरणलाई सरकारले उच्च रुपमा जोड दिदैँ आएको बताए ।
उनले भने, ‘सबल आत्मनिर्भर अर्थतन्त्र निमार्णको लागि कृषि क्षेत्रमा गुणात्मक र रुपान्तरणकारी परिवर्तन सरकारको प्राथमिकतामा रहेको छ । कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउँन कृषि क्षेत्रमा आधुनिकिकरण, यान्त्रिकीकरण र व्यवसायीकरणलाई सरकारले उच्च रुपमा जोड दिदैँ आएको छ ।’यस्तै, उनले कृषि क्षेत्रमा अपेक्षित प्रतिफल प्राप्त गर्न नसक्नुका कारणहरु पैलाउँदै उत्पादन वृद्धिका लागि विभिन्न कामहरु अघि बढिरहेको पनि बताए ।
उनले भने, ‘सरकारले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना लगायत प्रदेश र स्थानिय तहमार्फत उल्लेख्य रकम विनियोजन गरी कृषि क्षेत्रमा पर्याप्त साधन स्रोत परिचालन गर्ने नीति लिएको छ । यसको लागि सिचाई, रासायनिक मलको आपूर्ती समयमै हुने सुनिश्चितता गरिएको छ ।’प्रधानमन्त्री दहालले उत्पादित कृषि वस्तुको बजारको सुनिश्चितताका लागि धान, गहुँ, उखुलगायतका बालीका न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने लगायतका कार्यक्रमहरुपनि सञ्चालनमा रहेका बताए ।














